१० जेठ, काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनाव भएको हेटौंडा उपमहानगरपालिकाको मतगणना निकै रोचक बन्दै गएको छ ।

यस्तो प्रतिष्पर्धा छ कि नेकपा एमाले र नेका/माके गठबन्धनका उमेद्बारबीच आलोपालो अग्रता त्यो पनि निकै झिनो मतको । त्यसैले पनि हेटौंडाको मत परिणामलाई देशैभर निकै चासोका साथ हेरिएको छ । मतगणना अन्त्यतिर पुग्दा पनि एमालेले जित सुनिश्चित गर्न सकिरहेको छैन ।

अब ११ नम्बर वडाको १४ सय मत गन्न बाँकी छ । यतिबेलासम्म एमालेका प्रमुख पदका उमेद्बार हरिबहादुर महत काँग्रेस उमेद्बार अनन्दराम पराजुली भन्दा ५ सय ८५ मतले अगाडि छन् ।

प्राप्त पछिल्लो परिणाम अनुसार महतले २२ हजार ६ सय ६ र पराजुलीले २२ हजार २१ मत ल्याएका छन् । यो नतिजाले प्रमुख पदमा एमालेका उमेद्बार महतको जित लगभग सुनिश्चित जस्तै देखिएको छ ।

एमालेको पनि प्रभाव रहेको ११ नम्बर वडाको मतगणना भइरहेकाले एमालेका स्थानीय नेताहरु भन्छन्, ‘अब पराजुलीको कम्ब्याक संभव छैन ।’

उपप्रमुखमा भने नेकपा एमालेकी मिना लामा गठबन्धनका तर्फबाट माओवादीका उमेद्बार बलराम बल भन्दा गणना गर्न बाँकी रहेको मतको चार गुण बढीले अगाडि रहेकाले उनको जितको औपचारिक घोषणा हुन मात्रै बाँकी छ ।