काठमाडौं ।

विशिष्ट व्यक्ति, मन्त्री र पार्टीका अध्यक्षहरु नै उम्मेदवार भएपछि चितवनमा सुरक्षा चुनौती बढेको छ । रोल्पा, रुकुम लगायतका जिल्लामा माओवादी केन्द्रका उम्मेदवारमाथि आक्रमणको प्रयास भएसंगै चितवनको सुरक्षालाई पनि वढी ध्यानदिनुपर्ने देखिएको हो । पछिल्ला घटनाक्रमसंगै प्रशासनद्धारा चितवनमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । तीनदिन अघि ३ नं प्रदेशका डिआईजीको उपस्थितीमा जिल्लामा सुरक्षा अवस्थाको अवलोकन र निर्देशन हुनुले पनि चितवनलाई संवेदनशिल जिल्लाका रुपमा हेरिएको पाइएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन । त्यस्तै वन तथा भूसंरक्षण मन्त्री बिक्रम पाण्डे दाहालसँगै प्रतिस्पर्धामा छन । चितवन क्षेत्र नं. २ बाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी उम्मेदवार छन भने क्षेत्र नं. १ बाट पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि उम्मेदवार छन । यस्तै पूर्व सांसद एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठ पनि उम्मेदवार छन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले हालसम्म सामान्य अवस्थामा रहेपनि चितवनमा पछिल्ला दिनमा सुरक्षा चुनौती थपिएको बताए । पूर्व प्रधानमन्त्री, वहालवाला मन्त्री, राज्यमन्त्री र पूर्व मन्त्रीले पाउने सुरक्षा व्यवस्थाका अतिरिक्त थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

जिल्लामा सुरक्षा चुनौती महसुस गरिएको भन्दै उनले पूर्व प्रधानमन्त्री दाहालको घरदैलो कार्यक्रमको समय पूर्व नै त्यस क्षेत्रको अध्ययन गरी सुरक्षा व्यवस्था मिलाउने गरिएको छ । भिडभाड बढी हुने र कुनै पनि किसिमको घुसपैठ हुनसक्ने भएकाले उच्च सतर्कता अपनाईएको उनले बताए । उम्मेदवारमाथि जुत्ता प्रहार हुन सक्ने, गालामा झापड लगाउन सक्ने जस्ता घटना हुन सक्ने भन्दै निगरानी राखिएको छ ।

चुनाव प्रचार प्रसार कार्यक्रम जुध्न नदिनका लागि पूर्व तयारी गरिएको पनि उनले बताए । जिल्लामा निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेकपा माओवादी, अन्तरपार्टी कलह, अस्वस्थ प्रतिस्पर्धा, पार्टीगत वैमनस्यता, गुण्डाको प्रयोग लगायत चुनौतीका रुपमा देखापरेका छन् ।

पूर्वपश्चिम राजमार्ग, नारायणगढ–मुग्लिन सडक, भारतीय सीमा क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज लगायतका वन क्षेत्रलाई पनि सुरक्षा चुनौतीका रुपमा लिईएको छ । जिल्लाका होटल तथा रेष्टुरेण्टहरुमा आउने व्यक्तिहरुको निगरानी राखिएको छ । कुन होटलमा के कति मानिस बसेका छन्, उनीहरुको नियमित रेकर्ड समेत राख्ने गरिएको छ ।

जिल्लालाई ६ क्षेत्रका रुपमा विभाजन गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली र जिल्लाको प्रहरीको टोलीले सुष्म रुपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले दिएको छ ।

चितवन जिल्लामा नेपाल प्रहरीको मात्रै तीन हजार २ सय ९६ जना परिचालन हुनेछन् भने म्यादीको संख्या एक हजार ७ सय १० रहेको छ । जिल्लाका १ सय ६१ स्थलका ४ सय ८ मतदान केन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बीचको घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेनाको हुने पनि प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए ।