१ साउन, काठमाडौं । लामो समयदेखि अवरुद्ध प्रहरी बढुवा प्रक्रिया खुलाउँदै गृह मन्त्रालयले शुक्रबार ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न सिफारिस गरेको छ ।श्रीलंकाको कोलम्बोमा आठौं सार्क राष्ट्रहरूको गृहमन्त्रीस्तरीय बैठक सकेर शुक्रबारै स्वदेश फर्किनुभएका गृहमन्त्री जनार्दन शर्मा र गृहसचिव लोकदर्शन रेग्मीले बढुवा प्रक्रिया अगाडि बढाउन कसरत गर्नुभएको थियो ।

शुक्रबारै राति गृहमा बसेको बढुवा समितिको बैठकले ११ डीआईजीलाई एआईजी र १७ एसएसपीलाई डीआईजी बनाउन सिफारिस गरेको हो । गृहको सिफारिस सूचीअनुसार डीआईजी बमबहादुर भण्डारी र एसएसपी सर्वेन्द्र खनाल बढुवाको पहिलो नम्बरमा पर्न सफल हुनुभएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

पूर्ववर्ती सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरे पनि सर्वोच्चबाट बदर गरिएका डीआईजी जयबहादुर चन्द सिफारिसको दोस्रो नम्बरमा पर्नुभएको छ । सरकारसँग मुद्दा खेपिरहेका डीआईजी नवराज सिलवाल भने सिफारिसमा पर्नुभएको छैन । प्रहरी मुख्यालयले सार्वजनिक गरेको सूचीअनुसार तेस्रो नम्बरमा डीआईजी देवेन्द्र सुवेदी, चौथोमा पशुपति उपाध्याय, पाँचौंमा केशरीराज घिमिरे, छैटौंमा माधवप्रसाद जोशी, सातौँमा विजयलाल कायस्थ, आठौंमा कमलसिंह बम, नवौंमा मिङ्मार लामा, दसौंमा रणबहादुर चन्द र एघारौंमा विजयकुमार भट्ट हुनुहुन्छ । बढुवा समितिका सदस्यसचिव आईजीपी प्रकाश अर्याल हुनुहुन्छ ।

बढुवा सिफारिस भएकामध्ये डीआईजी भण्डारी आफूलाई एक तह माथि पार्न सफल हुनुभएको छ । एसएसपीबाट बढुवा हुँदा चौथो नम्बरमा रहनुभएका बम चन्दलाई उछिन्दै एक नम्बरमा पर्नुभएको छ ।

एसएसपीबाट बढुवा हुँदा सात नम्बरमा रहनुभएका मधु पुडासैनी भने सिफारिसमा छुट्नुभएको छ । एसएसपीबाट डीआईजीमा दोस्रोपटक बढुवा हुनुभएका डीआईजी रणबहादुर चन्द सिफारिसमा परे पनि अर्का डीआईजी हेमन्तबहादुर पाल छुट्नुभएको छ । अब एक साताभित्र चित्त नबुझेका प्रतिस्पर्धी डीआईजीहरूले बढुवा सिफारिसविरुद्ध उजुरबाजुर नगरेमा बढुवा समितिले गृहमन्त्रीमार्फत मन्त्रिपरिषद्मा लैजानेछ । उजुरी परेमा फेरि एक साता बढुवा प्रक्रिया लम्बिनेछ ।

खरेललाई उछिने खनालले
गृहको सिफारिसअनुसार १५ जना एसएसपीमध्ये बढुवा सूचीको एक नम्बरमा पर्नुभएका खनालले एसएसपीमा हुँदा एक नम्बरमा रहनुभएका रमेश खरेललाई उछिन्नुभएको हो । खरेललाई समितिले दोस्रो नम्बरमा बढुवा सूचीमा राखेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको प्राप्तांकअनुसार खनालले ८४.४७३४ र खरेलले ८३.८५१० नम्बर प्राप्त गर्नुभएको छ ।
जसअनुसार खनालले खरेललाई ०.६२२४ नम्बरले उछिन्नुभएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सूचीमा तेस्रो नम्बरमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पाँचौंमा भोगबहादुर थापा, छैटौंमा पुस्कल रेग्मी, सातौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, दसौंमा ज्ञानविक्रम शाह, एघारौंमा ठूले राई, बाह्रौंमा शरद चन्द, तेह्रौंमा धिरु बस्नेत, चौधौंमा पुष्पचन्द्र रञ्जित र पन्ध्रौंमा सुरेश विक्रम शाह पर्नुभएको छ ।

बढुवा भएका डीआइजी
वमबहादुर भण्डारी
जयबहादुर चन्द
देवेन्द्र सुवेदी
पशुपति उपाध्याय
केशरीराज घिमिरे
माधवप्रसाद जोशी
विजयलाल कायस्थ
कमलसिंह बम
मिङ्मार लामा
रणबहादुर चन्द
विजयकुमार भट्ट

बढुवा भएका एसएसपी
सर्वेन्द्र खनाल
रमेश खरेल
पुष्कर कार्की
उत्तम कार्की
भोगबहादुर थापा
पुस्कल रेग्मी
पवन खरेल
छविलाल जोशी
मनोज न्यौपाने
ज्ञानविक्रम शाह
ठूले राई
शरद चन्द
धिरु बस्नेत
पुष्पचन्द्र रञ्जित