६ भदौ, काठमाडौं ।

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी परित्याग गरी १५ जना नेता माओवादी केन्द्र फर्किएका छन् । नयाँ राजनीतिक शक्ति बनाउने भन्दै माओवादीबाट बाहिरिएका नेताहरु डाक्टर भट्टराईको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फेरि माओवादी केन्द्र मै फर्किएका हुन् ।

नयाँ शक्तिबाट नेता देवेन्द्र पौडेल, वामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला शिर्पाली, बलावती शर्मा, तीलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईं, शर्मिली तामाङ, रत्न राना र रविन्द्र सुनुवारलाइ आज काठमाडौंमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा फर्किएकाहरुलाई स्वागत गर्दै माओवादी आन्दोलनको एकीकरण सुरु भएको बताए । माओवादी आन्दोलन विचलित भएको उल्लेख गर्दै उनले अब
गम्भीर समीक्षा गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

नयाँ शक्तिले कुनै राजनीतिक धार बनाउन नसकेकाले नागरिकको पक्षमा उभिने पार्टी माओवादी मात्र भएको ठहर गर्दै फर्किएको नेताहरुले बताए ।

कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, कांगे्रस र एमालेबाट पनि माओवादी केन्द्रमा केही व्यक्ति प्रवेश गरेका छन् ।