१ वैशाख, अफगानिस्तान ।

अफगानिस्तानको दुर्गम उत्तरपूर्वी भागमा तालिवानले एक सैनिक केन्द्रमा आक्रमण गरी १८ सैनिकको हत्या गरेको र तीमध्ये केहीको टाउको काटेको जानकारी अधिकारीहरूले सोमबार दिएका छन् । यस मुलुकमा बसन्त ऋतुको युद्ध आरम्भ हुनुअगाडि यो प्रमुख आक्रमण भएको बताइएको छ ।

आक्रमण बदख्सान प्रान्तको जुर्म जिल्लामा शुक्रबार भएको र हालसम्म दर्जनौँ सैनिक हराइरहेको बताइएको छ । हराएका सैनिकलाई विद्रोहीले आफ्नो नियन्त्रणमा लिएको अनुमान गरिएको छ ।

प्रान्तीय प्रवक्ता नविद फ्रोटनले अठार सैनिकको मृत्यु भएको तथा तीमध्ये आठको टाउको काटिएको देखिएको बताए ।

उनले यस आक्रमणमा हराएका सैनिक खोज्ने र उनीहरूलाई फिर्ता ल्याउने प्रयास र उद्धार कारवाही निरन्तर रहेको बताए ।

Taliban attack

प्रतिरक्षा मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरि उक्त घटना भएको पुष्टि गरेको छ । विज्ञप्तिमा कुल ३३ सैनिकको मृत्युभएको, घाइते भएको वा उनीहरू हराएको जानकारी दिइएको छ ।

यस सङ्घर्षमा चार विदेशी लडाकूका साथमा २० तालिवानको मृत्यु भएको प्रान्तका प्रहरी उपप्रमुख सखिदाद हैदरले बताए  । तालिवानले पनि यस आक्रमणको जिम्मेवारी लिएको छ ।

अफगानिस्तानमा बसन्तको आरम्भ भएपछि तालिवानले रक्तपातपूर्ण आक्रमण गर्ने अनुमान गरिएको छ । अफगास्तिानबाट नेटोको सैनिक फिर्ता गएपछि अफगान सेनाले आफ्नै आधारमा यस प्रकारको पहिलो युद्ध सामना गर्नुपर्ने देखिएको छ ।

वासिङटनले गत महिना अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने काम ढिलो गर्ने घोषणा गरेपछि तालिवान विद्रोहीले सरकारी तथा विदेशी लक्ष्यमा आक्रमण बढाएको छ ।

नेटोको युद्धअभियान डिसेम्बर महिनामा अन्त्य भएको छ । यसो भए पनि स्थानीय सुरक्षा बललाई तालिम तथा सहयोग गर्न केही विदेशी सैनिक यहाँ तैनाथ रहेका छन् । रासस,एएफपी