१३ भदौ, नेपालगञ्ज।

लगातार १९ दिनदेखिको बन्दका कारण बाँकेको उद्योग व्यवसाय धरासायी बन्नुका साथै राजश्व असुलीमा समेत असर परेको छ । ठूला साना गरी ५ सयको हाराहारीमा रहेका उद्योग र ५ हजारभन्दा बढी व्यापारिक प्रतिष्ठान रहेको बाँकेमा लगातार बन्द आव्हान गरिँदा उद्योगी व्यवसायी मर्कामा परेका छन् ।

त्यस्तै सरकारी राजस्व असुलीमा समेत बन्दले प्रत्यक्ष असर गरेको छ । बन्दका कारण उद्योगको अवस्था दयनीय बन्नुका साथै कच्चा पदार्थको अभावले संचालन हुने अवस्थासमेत नरहेको उद्योगी सञ्जय अग्रवाल बताउँछन् । राजनीतिक माग राजनीतिकरुपमै समाधान गरिनु पर्ने बताउँदै ऋण लिएर संचालित तथा कर तिर्दै आएका उद्योग बारम्बारको बन्दले गर्दा धरासायी बन्ने अवस्थामा पुगेको उनको गुनासो छ ।

संयुक्त थरुहट मधेश संघर्ष समितिले आव्हान गरेको बन्दका कारण भन्सार तथा अन्य सरकारी कार्यालयमा संकलन हुने राजश्वमा पनि कमी आएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक लालबहादुर कार्की लगातार बन्दका कारण भन्सारलगायत सरकारी राजश्व असुलीमा कमी आएको बताउँछन् ।

मध्य तथा सुदूरपश्चिमको व्यापारिक केन्द्रको रुपमा रहेको नेपालगञ्जमा दैनिक ५ करोड रुपैंयाँ बराबरको व्यापारिक कारोबार हुने गरे पनि बन्दका कारण व्यापारीले नोक्सानी व्यहोर्न परेको छ । दैनिक ज्यालादारीमा गुजारा गर्ने मजदूर तथा यातायात व्यवसायी पनि बन्दका कारण समस्यामा परेका छन् ।