काठमाडौं । शिर झुकाएर आमाको आशीर्वाद लिएपछि अञ्जु पन्तले पहिलो गीत गाइन्, ‘मेरो देशको माया छ’ । शब्दलाई गहिरो अनुभूतिसहित पस्किनु उनको गायनकौशल हो । २० वर्षे गायनयात्रामा पहिलोपटक एकल साँझमा प्रस्तुत भएकी उनको यो कौशल पहिलो गीतबाटै दर्शक श्रोताले महसुस गरे । आमाको हात समाउँदै मञ्चमा प्रवेश गरेकी अञ्जु नीलो र सेतो ‘कम्बिनेसन’को सारीमा खुलेकी थिइन् । मञ्च पनि सेतो र नीलो रङको संयोजनमा आकर्षक देखिएको थियो ।

मञ्चमा उनको आगमनसँगै भरिभराउ हलमा गुञ्जिएको तालीको गडगडाहट उनको पहिलो प्रस्तुतिपछि पनि उत्तिकै जोशिलो थियो । संगीतयात्रामा उनलाई स्थापित गर्न र संगीत क्षेत्रमा टिकाइरहन सघाएका गीतहरू शनिबारको साँझ प्रज्ञाप्रतिष्ठानको हलमा प्रस्तुत भए । गीतसँगै जीवनयात्राका अनुभूति सुनाउँदै अञ्जुले भनिन्, ‘जति उतारचढाव आए पनि मेरो लागि संगीतयात्रा एकदमै स्वर्णिम भयो ।’

साँझमा ‘कसले चोर्‍यो मेरो मन’ उनको दोस्रो प्रस्तुति थियो । ‘एक पल पनि तिमीबिना बाँच्न सक्दिनँ’ तेस्रो प्रस्तुति । यो गीतसँग उनको जीवनको महत्वपूर्ण याद जोडिएको रहेछ । संगीतकर्मी फत्तेमान राजभण्डारीको एकल साँझमा उनलाई साथ दिन अञ्जु चुनिएकी रहिछन् । त्यति बेला संगीतकार रञ्जित गजमेरको मनमा अञ्जुको स्वर गड्यो । दुई महिनाकी सुत्केरी अञ्जुको घरमै गएर रञ्जितले यो गीत अभ्यास गराएका रहेछन् । ‘यो गीतसँग मेरो भावनात्मक सम्बन्ध छ, रञ्जित गजमेरप्रति समर्पण गर्न चाहन्छु’, अञ्जुले भनिन् । फत्तेमानकै अर्को गीत ‘यस्तो पनि हुँदो रैछ’ पनि उनलाई समर्पण गर्दै अञ्जुले गाइन् ।

भजनबाट गायनयात्रा सुरु गरेकी अञ्जुले एकैछिन आध्यात्मिक माहोल पनि सिर्जना गरिन् । ‘मनवा मन नै योगी बनाउ’ सुन्दा प्रज्ञाप्रतिष्ठानमा कुनै धार्मिक अनुष्ठान चलिरहेजस्तो भान भयो । पहिलो चरणमा ‘म यस्तो गीत गाउँछु’, ‘पलपल रोएँ जिन्दगीमा’, ‘तिमीले पराई ठानेपछि’ लगायत आठवटा गीत गाइन् । दोस्रो चरणमा रातो गाउन र गोल्डेन आउटरमा सजिएर स्टेजमा देखा परिन् । कपालमा झलल सजिएका ‘एसेसोरिज’ले उनको सुन्दरतालाई अझै बढाएको थियो । ‘सुनकोसी सुसेलेको’, ‘तिर्खा लाग्यो पानी खाएँ’, ‘गोर्खा पल्टन’जस्ता डान्सिङ बिटसहित ‘न बिर्र्सें तिमीलाई’, ‘तिमीबिना एक पल पनि’, ‘तिमी कसको हुने होला’लगायतका मेलोडी नम्बर पनि सुनाइन् ।

‘सुर्के थैली खै’ गीत पस्किएर पूर्वसूचनाबिना नै कार्यक्रमको ‘सरप्राइजिङ’ अन्त्य भयो । उनलाई दुई गीतमा गायक सुरेश लामाले साथ दिएका थिए । अहिलेसम्मको गायनयात्रामा लगभग ६ हजार गीत गाइसकेकी अञ्जुले कार्यक्रममा करिब अढाई घन्टामा १७ वटा गीत प्रस्तुत गरिन् । अञ्जु पन्त फाउन्डेसन र रेकर्डिस्ट एसोसिएसनले आयोजना गरेको कार्यक्रमबाट संकलित रकम अञ्जुले यी दुवै संस्थालाई प्रदान गर्नेछिन् । आजको अन्नपूर्ण पोस्टबाट