२९ भदौ, ललितपुर । स्थानीय तहको तेस्रो चरणको चुनाव नजिकिँदै गर्दा प्रमुख दलहरुले आफूले जित्ने सिट संख्या अनुमान गर्न थालेका छन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा कम्तीमा ५० सिट जित्ने दाबी गरेलगत्तै नेपाली काँग्रेसले पनि १ सय सिट जित्ने अनुमान गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकल कम्तिमा १ सय तह जित्ने दाबी गरेका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । नेपाली कांग्रेसले गौर,मिथिला र निजगढ नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा अन्य राजनीतिक दलसँग तालमेल गरेको छ ।

प्रदेश नं २ का सबै जिल्लाहरुको प्रचारप्रसारमा सहभागी भएर भर्खरै फर्किएका लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र प्रदेश नं २ का मतदाताको अपेक्षा,भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीय तहको समग्र निर्वाचनमा नै नेपाली कांग्रेस पहिलो हुने विश्वास व्यक्त गरे ।

उनले नेपाली कांग्रेसले स्थापनाकालदेखि हालसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै २ नं प्रदेशको विजयको आधार भएको बताए । उनले मधेशी लगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग समुदायका नागरिकको भावनालाई समेटेर संविधानलाई अझ अस्वीकार्य बनाउने सन्दर्भमा नेपाली कांग्रेसले लिएका कदम पनि निर्वाचन जित्नमा सहयोगी हुने दाबी गरे ।