१३ चैत, काठमाडौं।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले २ नम्बर प्रदेशमा राजनीतिको नाममा अपराधीहरु सक्रिय रहेको आरोप लगाएका छन् ।

फाइल तस्बिर

आइतबार काठमाडौमा एमालेको केन्द्रीय कमिटीमा मनोनयन गरिएका सदस्यलाई शपथग्रहण गराउदै ओलीले उनीहरु देशलाई सम्बृद्ध नबनाउनको लागि चलखेलमा लागेको समेत बताए ।

उनीहरुकै अलोकतान्त्रिक गतिविधीको कारणले सप्तरीमा गोलीकाण्ड जस्तो दु:खद घटना घटेको उनले आरोप लगाए । उनले यस्ता गतिविधीहरु राजनीतिक दलले गर्ने गतिविधी नभएर आतंककारीहरुले गर्ने गतिविधी भएको टिप्पणी गरे ।

ओलीले देशको परिस्थिती अप्ठ्यारोमा रहेकोले मधेशमा रहेको भ्रम चिर्न सक्नुपर्ने समेत बताए । ओलीले मधेसमा एमालेलाई कमजोर बनाउन सबैखाले शक्तिहरु एकजुट भए पनि आगामी चुनावमा जित्ने गरी लाग्न नयाँ केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए ।

कार्यक्रममा ओलीले एमालेका २० जना मधेसी तथा थारु केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा पद तथा गोपनियताको सपथग्रहण गराए । सपथग्रहण गर्नेमा सिराहाका धर्मनाथ साह, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, पर्साका रामचन्द्र साह तेली, महोत्तरीका रामदयाल मण्डल छन् ।

त्यस्तै धनुषाका रत्नेश्वर गोइत, सर्लाहीका रविन्द्र बैठा, धनुषाकै यदुवंश झा, हरिनारायण महतोले पनि सपथग्रहण गरेका छन् । रघुवीर महासेठ र लालबाबु यादवले यसअघि नै दमकमा सपथग्रहण गरेका थिए ।

वैकल्पिक केन्द्रीय सदस्यहरु कैलालीका नारदमुनी राना, धनुषाकी जुली महतो, उदयपुरकी मन्जु चौधरी लगाएतले पनि सपथ ग्रहण गरेका छन् । गत फागुन २० मा झापाको बिर्तामोडमा बसेको एमाले स्थायी कमिटी बैठकले मधेसी र थारु नेताहरुलाई सामुहिक रुपमा केन्द्रीय कमिटीमा मनोनित गरेको थियो।