‘मलाई गर्व छ मैले कांग्रेसको टिकट पाइन’

हिजो मात्र विज्ञप्ती निकलेर बागी उम्मेदवारलाई कारवाही गर्ने कांग्रेसले चेतावनी दिएको छ । तर कांग्रेसको बागीको रुपमा ललितपुर महानगरपालिकाको प्रमुखमा प्रेमलाल महर्जनले उम्मेदवारी दिएका छन् ।

आफूले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको भन्दै फिर्ता नलिने बरु सदस्यता त्यागेर पार्टीको कारवाही भोग्न तयार रहेको उनले बताएका छन् । यसैसन्दर्भमा प्रस्तुत छ नेपाली हेडलाइन्सका सम्पादक बोमलाल गिरीले ललितपुर महानगरपालिका प्रमुखका उम्मेदवार प्रेमलाल महर्जनसँग गरेको कुराकानीः

प्रेमलाल महर्जनलाई उपभोक्ता अधिकारकर्मी भनेर चिन्थ्यौं । तर अहिले महानगर प्रमुखमा उम्मेदवारी दिनुभएको छ । पार्टीको समर्थन विना स्वतन्त्र चुनाव लडेर जित्छु भन्ने लाग्छ ?

यो संसदीय चुनाव होइन । नकि केन्द्रीय सरकार बनाउने चुनाव । यो त स्थानीय सरकार बनाउने स्थानीय तहको चुनाव हो । जहाँ स्थानीय व्यक्तिहरुले काम गरेको हुन्छ । जसका लागि जनताले स्थानीय तहमा काम गर्न सक्ने व्यक्ति खोज्छन् ।

त्यसो भए राजनीतिक दलमा किन लाग्न पर्यो र ?

राजनीतिक दलमा लाग्ने र नलाग्ने अर्को पाटोको विषय हो । स्थानीय तहको चुनावमा जनताले आफ्नो इच्छा र आकांक्षा पुरा गर्छ कि गर्दैन भनेर हेरेको हुन्छ । र जनभावना अनुसार काम गर्छ कि गर्दैन भनेर वाच गर्छन र मेरो आवश्यकताको व्यक्ति यो हो भनेर पहिचान गरेको हुन्छ । त्यो पहिचान गरेको मान्छे उम्मेदवारको रुपमा आयो भने त्यसैलाई भोट दिन्छन् । न कि पार्टीको झण्डा बोकेको वा सिद्धान्त बोकेको ।

त्यो भनेको जनताले मलाई पहिचान गरेका छन् । त्यसैले जित्छु भन्ने आत्मविश्वास छ तपाईमा ?

पक्कै पनि । किनभने म देशैभरी उपभोक्ताको हकहितमा काम गरिरहेको छु । मैले जसरी उपभोक्ताको हकहितका लागि ३० वर्ष काम गरें । नागरिकको आवश्यकता भित्री हृदयदेखि बुझेको छु । त्यो कुरा ललितपुरवासीले पनि बुझेका छन् ।

तपाईको पृष्ठभूमि हेर्दा तपाई नेपाली कांग्रेस आवद्ध हुनुहुन्छ । तर कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार बन्नुभएको हो ?

२०३३ सालसम्म म बाम आन्दोलनमा थिए । त्यसपछि मैले समाजवादी अर्थ व्यवस्था अनि खुल्ला अर्थतन्त्र चाहिन्छ भनेर २०३६ सालदेखि अहिलेसम्म म निरन्तर कांग्रेसमै छु ।

त्यसो भए तपाईको यो बाँगी उम्मेदवारी हो ?

म त्यसरी पनि भन्दैन । म कँंग्रेसको विचारक हुँ । एउटा विचार बोकेर हिड्छु ।

तपाई अहिले पनि कांग्रेसको सदस्य हुनुहुन्छ नि ?

छु ।

हिजो मात्र कांग्रेसले विज्ञप्ती निकालेर पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध कोही बागी उम्मेदवार बन्छ भने कारवाही गर्ने र विधानतः त्यस्ता व्यक्ति र उसका समर्थत र प्रस्तावक समेत स्वतः साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ । त्यसो भए तपाई अव पार्टी सदस्य नरहनुहुने भयो ?

यदि त्यो भए म नेपाली कांग्रेसको साधारण सदस्यबाट समेत बाहिरिसकेको हुनेछु । तर म कांग्रेसले बोकेको लोकतान्त्रिक समाजवादको विचार बोकिरहने छु ।

त्यसो भए तपाईलाई अव पार्टी प्यारो छैन ।

मलाई कांग्रेसको विचार मन पर्छ । तर जनताभन्दा पार्टी प्यारो छैन । अरु कुरा मतलव छैन । कांग्रेसको विचारले जनतालाई कुन कुन बाटोमा लैजान खोजेको थियो, त्यो बाटोमा मैले पनि लैजान सक्छु ।

चुनावी टिकटका लागि पार्टीमा कुरा गर्नु भएन ?

त्यो अर्को पाटो हो म त्यो पक्षमा जान चाहन्न ।

तर स्वतन्त्र रुपमाभन्दा पार्टीबाट चुनाव लड्डा त अलि सहज हुन्थ्यो होला नि ?

यदि कांग्रेसले मलाई टिकट दिएको खण्डमा टिकट दिएकै दिन कांग्रेसले चुनाव जित्यो भन्न सक्थे । तर मलाई गर्व छ मैले कांग्रेसको टिकट पाइन । अव मलाई कसैको गुलाम पनि हुन परेन । त्यसैले अव पार्टीको झण्डा नबोकिकनै सकृय हुन्छु । पार्टीका हरेक तह र तप्कामा गुटको राजनीति छ । म गुटको राजनीतिमा नलागेकाले टिकट नपाएको पनि हुनसक्छ ।

कांग्रेसको चेतावनीका बावजुत पनि उम्मेदवारी फिर्ता लिनुहुन्न त्यसोभए ?

कांग्रेस एउटा पार्टी मात्र हो । जसलाई गुटवादी राजनीति गर्ने नेतृत्वले चलाइरहेको छ । त्योे नेतृत्वलाई मैले वहिस्कार गरेको हो ।

चुनाव लड्न कति पैसा जम्मा गर्नुभएको छ ?

आजको मितिसम्म एक सुको पनि जम्मा गरेको छैन । पैसा संकलन गर्ने विचार पनि छैन । म कसैलाई दुःख दिने पक्षमा पनि छैन । तयारी पनि आफ्नै श्रोत साधनले गर्छु । म आर्थिक रुपले सम्पन्न गराउन हिडेको मान्छे आफै आर्थिक संकलन गर्न चन्दा उठाउँदै हिड्दैन ।

तपाईलाई लाग्छ एक पैसा खर्च नगरी चुनाव जित्छु ?

होइन । स्वभाविक रुपमा दुई चार लाख त खर्च हुन्छ नै । निर्वाचन आयोगले साढे सात लाख रुपैयाँ खर्च गर्न सक्ने अधिकार दिएको छ । त्यो सिमा भित्र रहेर चुनाव लड्न पर्याप्त हुन्छ ।

उम्मेदवारहरुले साढे सात लाख निक्कै थोरै भयो भनिरहेको बेला तपाई त झन धेरै भयो भन्दै हुनुहुन्छ त ।

मैले भनेको स्वतन्त्र उम्मेदवारको लागि हो । दलको उम्मेदवार भएर चुनाव लड्दा त ५० लाखभन्दा बढी खर्च हुनरहेछ । तर स्वतन्त्र लड्दा धेरै सस्तो पर्ने ।

तपाईलाई भोट किन दिने ?

म महानगरपालिकाको प्रमुख भइकेपछि शहरी सडक तथा लिंकरोडको विकार, ढल निकासको प्रवन्ध, सवारी पार्किङको प्रवन्ध, सम्पदाहरुको संरक्षण र पर्यटन विकास, फोहरमैला व्यवस्थापन र वातावरण संरक्षण, उर्जा उत्पादन तथा विद्युतीकरण, औद्योगिक तथा घरेलु उद्योगको विकास, स्वास्थ्य शिक्षा तथा अस्पतालहरुको स्थापना, प्रशासनिक सुधार लगाययत मेरा केही दिर्घकालिन र अल्पकालिन योजनाहरु सार्वजनिक गरेको छु ।