१२ फागुन, एजेन्सी।

३९ प्रकाश वर्ष टाढा खगोलविद्हरुले एक सौर्यप्रणाली पत्ता लगाएका छन् जसका ग्रहहरुमा जीवन सम्भव हुन सक्ने अनुमान गरिएको छ।

ड्वार्फ स्टार ‘ट्रापिस्ट-१’ लाई घुम्ने पृथ्वी जस्तै सात ग्रहहरु पत्ता लागेका हुन । यी सबै ग्रहको सतहमा पानी पाइने सम्भावना उच्च छ।

जसमध्ये तीन ग्रहको वातावरण निकै उपयुक्त भएकाले त्यहाँ पहिल्यै जीवन विकास भएको हुनसक्ने वैज्ञानिकहरुले अनुमान गरेका छन्।

त्यहाँ जीवन छ या छैन आउँदो दशक भित्र थाहा हुने अनुसन्धानकर्ताहरुले बताएका छन्।

पृथ्वी जत्रै आकारका यति धेरै ग्रहहरु भएको सौर्यप्रणाली अहिलेसम्म पत्ता लागेको थिएन।

यी ग्रहहरुमा पृथ्वी झै चट्टानी भू-भाग हुनसक्छ, ६ वटाको सतहको तापक्रम ०-१०० डिग्री सेन्टिग्रेड (३२-२१२ फरेनहाइट) छ।

अर्थात यी ग्रहहरुमा जीवन विकास सम्भव गर्ने वायुमण्डल हुनसक्ने सम्भावना प्रवल छ।

यो सौर्य प्रणालीको ‘habitable zone’ (आवासीय क्षेत्र) भित्र पर्ने तीनवटा ग्रहमा पानीको सागर हुनसक्ने र त्यहाँ पहिलेदेखि नै जीवन विकास भइसकेको हुन सक्ने अनुमान गरिएको छ।

‘Transit’ पद्धति प्रयोग गरि टेलिस्कोपबाट यी ग्रहहरु भेटिएका हुन। 1h लेवल सहित यी ग्रहहरुको नाम 1b, 1c, 1d, 1e, 1f, 1g, 1h राखिएको छ।

सौर्यमण्डलको केन्द्रमा रहेको ताराको वरिपरि घुम्दा ताराबाट आएको प्रकाश छेकिने हुन्छ, यसरी ताराबाट निस्केको प्रकाशमा आउने भिन्नतालाई मापी ग्रह, र यसको अक्षको बारेमा पत्ता लगाइन्छ।

ट्रापिस्ट-१ प्रणालीमा रहेका सात ग्रह पत्ता लगाउन अनुसन्धानकर्ताहरुको अन्तराष्ट्रिय समुहले अन्तिरक्ष र जमिनमा रहेका थुप्रै टेलिस्कोपको प्रयोग गरेका थिए।

यी सात वटा ग्रह मध्ये केन्द्रबाट ४.१९ मिलियन किलोमिटर टाढा रहेको 1e, ५.५३ मिलियन किलोमिटर टाढा रहेको 1f, ६.७३ मिलियन किलोमिटर टाढा रहेको 1g मा एलियन जीवन हुनसक्ने अनुमान गरिएको हो।

यी सात वटै ग्रहहरुमा मिथेन, पानी, अक्सिजन र कार्वनडाइअक्साइड भएको हुनसक्ने बलिया संकेतहरु देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

यो सौर्यप्रणाली हाम्रै आकासगंगा तारापुञ्जमा छ। पृथ्वीबाट करिब ३९ प्रकाश वर्ष टाढा रहेको यो सौर्यप्रणाली टेलिस्कोपबाट देखिएपनि अहिलेको प्रविधिले त्यहाँ पुग्नु झण्डै असम्भव झै छ। पृथ्वीको तत्कालिन प्रविधीले त्यहाँ पुग्न सयौँ हजार वर्ष लाग्न सक्छ।

हाम्रो तारापुञ्ज आकासगंगा करिब १,००,००० प्रकाश वर्ष चौडा छ। आकाशगंगाको आकारको अघि ३९ प्रकाश वर्ष निकै छोटो दुरी हो। तर एक सेकेन्डमा करिब ३ लाख किलोमिटर यात्रा गर्ने प्रकाशलाई पनि यो नयाँ सौर्यमण्डल पुग्न ३९ वर्ष लाग्ने अवस्थामा अहिलेको प्रविधीले त्यहाँ पुग्नु असम्भव मानिएको हो। ३९ प्रकाश वर्ष करिब ३.६८९ X १०१४ किलोमिटर बराबरको दुरी हो।

स्पेनको ला पाल्माको लिभरपुल जोन मोर्स युनिभर्सिटीको टेलिस्कोप, पृथ्वीको कक्षमा रहेको नासाको स्पिटजर स्पेस टेलिस्कोप लगायत टेलिस्कोप प्रयोग गरि यो सौर्यमण्डलको खोज गरिएको हो।

सौर्यमण्डलको केन्द्रमा रहेको तारा ट्रापिस्ट-१ को व्यास हाम्रो सूर्यको व्यासको ११ प्रतिशत मात्र छ।

त्यहाँ वायुमण्डल लगायत जीवनको सम्भाव्यता बारे आगामी दशकभित्र थुप्रै जनकारी हासिल गरिने वैज्ञानिकहरुले बताएका छन्।

पृथ्वीबाट यति नजिक अहिलेसम्म यस्तो ग्रहहरु सहितको सौर्यमण्डल भेटिएको थिएन। यो नयाँ सौर्यमण्डलको खोज खगोलशास्त्रीहरुले ठूलो उपलब्धी बताएका छन्।