काठमाडाैँ, १० जेठ । नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ ।

पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई शुक्रबार बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका व्यक्ति हुन् । ठूलो परिमाणमा नक्कली रुपैयाँ रहेकाले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्सारीसँगै अन्य दुई नेपाली र तीन पाकिस्तानी पनि पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । “एउटा सुटकेसको रकम गन्दा तीन करोड ५० लाख नक्कली भारु फेला परेको छ, अझै दुई सुटकेसको रकम गन्न बाँकी नै छ”, रञ्जितकाले जानकारी दिए। पक्राउ पर्नेमा अन्सारीसहित सोपल खान र सुजन रानाभाट तथा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दिन र नाजीया अनुवर रहेका छन् । पाकिस्तानीहरु कतार एयरवेजबाट पैसा ल्याउँदै गरेका थिए भने अन्सारीसहित तीन जना पैसा लिन विमानस्थल पुगेका थिए ।