३० बैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको चुनावमा भोली हुने स्थानीय तहको पहिलो चरणको चुनावमा ३ सय २९ जना उमेद्बार निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दै यो निर्वाचनमा १६० महिला र १६९ पुरुष गरी ३२९ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जानकारी दिएको हो ।

भोली हुने निर्वाचनमा जम्मा ४९ हजार ३३७ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेको प्रमुख निर्वाचन आयुक्त अयोधी यादवले जानकारी दिए ।

तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार रहेका छन् यस निर्वाचनमा ४ महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका र १८६ गाउँपालिकामा भोलि मतदान हुने छ । यस निर्वाचनबाट नगरप्रमुख वा अध्यक्ष गरी २८३ र त्यतिकै संख्यामा उपप्रमुख वा उपाध्यक्ष निर्वाचित हुनेछन् भने २ हजार ५९८ वडाध्यक्ष निर्वाचित हुनेछन् ।

निर्वाचनमा प्रमुख वा अध्यक्षमा कुल एक हजार ७२३ पुरुष र १५७ महिला गरी एक हजार ८८० तथा उपप्रमुख एवं उपाध्यक्षमा पुरुष २५७ र महिला एक हजार १२७ गरी जम्मा एक हजार ३८४ जना प्रतिस्पर्धामा छन् ।
नगरप्रमुख तथा अध्यक्षमा पुरुष एक हजार ७२३ र महिला १५७ जनाको मात्रै उम्मेदवारी छ ।

आयोगका अनुसार नगरप्रमुख वा उपाध्यक्षमा भने पुरुषको भन्दा महिलाको सङ्ख्या सबैभन्दा बढी देखिएको छ । उपाध्यक्षमा २५७ जना पुरुष र एक हजार १२७ जना महिला छन् ।

वडाध्यक्षमा पुरुष १० हजार २९६ जना र महिला ४४८ जना उम्मेदवारहरू निर्वाचनको मैदानमा छन् । यसैगरी, वडा सदस्य दुई पद खुलाका लागि पुरुष १७ हजार ७२९ र महिला ९५१ जना र महिला वडा सदस्य पदमा नौ हजार ८३ र दलित महिला वडा सदस्यमा ७ हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।