१७ चैत, काठमाडौं ।

बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ५१ जिल्लाका लागि आवश्यक पर्ने मतपत्रको छपाईको काम पूरा भएको जनाएको छ ।

प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरुसँग गरेको छलफलमा आयोगले यस्तो जानकारी दिएको हो ।

छलफलमा आयोगले मतदान केन्द्र पुनरावलोकन, मतदाता नामावली तयारी, निर्वाचन सामग्री खरीद मतदाता शिक्षा, जनशक्ति व्यवस्थापन लगायत विषयमा जानकारी गराएको थियो ।

आयोगले निर्वाचन आचार संहिता पालनामा गरेको कडाईलाई प्रधानमन्त्रीले आफूले सकारात्मक रुपमा लिएको बताएका थिए ।

प्रधानमन्त्रीले तराईका केही जिल्लामा मतदात केन्द्र पुननिर्धारणका सम्बन्धमा सहमति हुन नसकेको विषयमा छिट्टै सहमति हुने विश्वास दिलाएका छन् ।

निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने सम्बन्धमा नयाँ शक्ति पार्टी लगायतका दलले उठाएको प्रश्नबारे प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग जिज्ञाशा राखेका थिए ।

जवाफमा आयोगका पदाधिकारीहरुले स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार नै दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको स्पष्ट परेका छन् ।