२७ भदौ, महोत्तरी ।

बाढीले पुल भासिएर आवागमन ठप्प भएको पूर्वपश्चिम राजमार्गको रातुमा बेलिब्रिज जडान गरी सवारी साधनको आवागमन सुचारु भएको छ । साउन २८ गते रातिको बाढीका कारण महोत्तरीतर्फको चौथो पिलर भासिएपछि पुलबाट यातायातका साधन सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

पिलर भासिएको ठाउँमा ३५ मिटर लामो बेली ब्रिज ८ दिनमा जडान गरी पुलबाट सवारी साधन गुडन थालेका हो । चारपांग्रे हलुका सवारी साधन पुलबाटै गुड्न थालेका छन । तर पुल जडान इन्जिनिरिङ हिसाबले मिलेको छ कि छैन भन्ने जाँच्न हलुका सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

एकदुई दिनपछि ठूला गाडी पनि पुलबाटै गुडन सक्ने प्राविधिकले जनाएको छ । मालवाहक गाडी अहिले पनि खोलाबाटै एकतर्फी रूपमा गुडिरहेका छन । आइतबार साँझ बाढीले डाइभर्सन बगाउँदा सयौं सवारी साधन महोत्तरीको बर्दिबास र धनुषाको लालगढमा जाममा परेका थिए ।

बाढी घटेपछि वैकल्पिक बाटो बनाएर खोलाबाट मालवाहक गाडी गुडन थालेका छन् । दक्षिणतर्फको वैकल्पिक बाटो बाढीले पटक पटक बगाउँदा चार दिनसम्म यातायात अवरुद्ध भएको थियो ।

पूर्व पश्चिम राजमार्गमा पर्ने रातु पुल भासिँदा सबैभन्दा बढी मालवाहक सवारी साधन समस्यामा परेका थिए । २०७१ सालमा पनि दुईवटा पिलर भासिँदा बेली ब्रिज जडान गरी पुल सञ्चालनमा ल्याइएको थियो । उत्तरतर्फ नयाँ पुल बन्ने क्रममा छ ।