१५ मंसिर, काठमाडौं ।

सरकारले ९८ हजार तीन सय ६५ म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू सबै चुनावी सुरक्षामा खटिएका छन् ।

सरकारले ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गरेको हो । उनीहरूका लागि चार अर्ब ९१ करोड खर्च हुन्छ । प्रहरी जवानसरह उनीहरूले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउँछन् । त्यसबाहेक चार हजार पोशाक भत्ता, सात दिनको पाँच सयका दरले भत्ता र एक हजार रुपैयाँ बाटो खर्च पाउने छन् । त्यस्तै जिल्लाको दररेट अुनसार रासन भत्ता पाउछन् । आजको नयाँ पत्रिकामा खबर छ ।

जूून सामान्यतया मासिक ५-६ हजार रुपैयाँ हुने गर्दछ । जसअनुसार एक म्यादी प्रहरीलाई ५५ दिनका लागि करिब ५० हजार रुपैयाँ खर्च हुन्छ । जसअनुसार म्यादीका लागि मात्र चार अर्ब ९१ करोड रुपैयाँ खर्च हुने छ । भर्नाका लागि हुने खर्च तथा उनीहरुको ओसारपसार खर्च समेत गरी म्यादीलाई करिब ५ अर्ब खर्च पुग्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

निर्वाचनमा म्यादी प्रहरीको महत्वपूर्ण सहयोग रहेको नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेले बताए । निर्वाचमा नेपाल प्रहरीसँगै भित्री घेरामा उनीहरु खटिन्छन् । प्रहरीसँगै नियमित गस्तीदेखि मतगणनासम्म उनीहरुलाई खटाउने गृहको योजना छ । १५ दिनको सुरक्षा तालिम दिएर उनीहरुलाई निर्वाचमा खटाइएको छ । म्यादीमा भर्ना भएकाहरु सबै आर्थिक पाटो हेरेर मात्र होइन फौजी जागिरको मोहका कारण पनि भर्ना भएका छन् ।

म्यादीमा भर्ना भएका कतिपय राजनीतिक दलका कार्यकर्ता हुनसक्ने भएकाले चुनावमा उनीहरुले गडबड गर्न सक्ने आँकलन पनि गरिएको छ । जसकारण सबैतिर प्रहरीकै कमाण्डमा मात्र म्यादी खटाइएको छ । म्यादीमाथि नै निगरानीको संयन्त्र समेत बनाइएको छ ।

मंसिरको जाडोमा स्विटरको भर
देशैभरि उच्च जाडो सुरु भइसकेको छ । तर, म्यादी प्रहरीलाई भने ज्याकेटसमेत दिइएको छैन । उनीहरूलाई स्विटर मात्र किन्ने पैसा दिइएको छ । जसकारण स्विटरको भरमा रातिसमेत ड्युटी गर्नुपर्दा उनीहरू असन्तुष्ट बनेका छन् । सरकारले उनीहरूलाई कपडा किन्न प्रतिव्यक्ति चार हजार छुट्याएको थियो । स्रोतका अनुसार प्रहरीले १÷२ जना ठेकेदारमार्फत पोसाक खरिदको प्रबन्ध गरेको थियो ।