२ माघ, एजेन्सी । यमनमा भएको हवाई आक्रमण, सरकारबल र हुथी विद्रोहीबीच भएको झडपमा परी २१ जना विद्रोही र पाँच सुरक्षा अधिकारीको मृत्यु भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

यमनको दबाब क्षेत्रमा इरानको समर्थन रहेको हुथी विद्रोहीविरुद्ध सरकारी बलले गत एक हप्तासम्म कारबाही जारी राखेका थिए ।

विद्रोहीको बलियो प्रभाव रहेको होडेइडामा रहेको एक अस्पतालमा शनिबार बिहान सबेरै हुथी विद्रोहीको १२ शव र अन्य २३ घाइते ल्याइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी साउदी अरेबिया समर्थक संयुक्त सेनाले जयडिया र होडेइडामा गरेको हवाई आक्रमणमा अन्य नौ हुथी विद्रोही मारिएका एक सुरक्षा अधिकारीले जानकारी दिएको छ ।

अस्पतालको स्रोतका अनुसार रातभरि भएको झडपमा परी पाँच सुरक्षा अधिकारीले समेत ज्यान गुमाएका छन् ।

यमनमा सन् २०१५ बाट हुथी विद्रोही देशका कैयौं भागहरु कब्जा गरेका थिए । त्यसपछि यमन सरकारको समर्थन गर्दै साउदी अरेबियाले हुथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेको हो । यमनमा सन् २०१५ बाट जारी द्वन्द्वमा परी सात हजार चार सय व्यक्तिको मृत्यु भइसकेको छ ।