८ माघ, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारले संविधान संशोधनको विधेयक पारित गर्न दुई तिहाई पु-याउनकै लागि मन्त्री थप गर्नु देश कै लागि हितकर नभएको बताएका छन ।

भक्तपुरबाट प्रकाशित भइरहेको श्रमिक साप्ताहिकको २४ औं र मजदुर दैनिकको १९ औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा उनले देशलाई आवश्यक परे मात्रै मन्त्रिपरिषद विस्तार गर्नुपर्नेमा आफ्नो स्वार्थ पुरा गर्न मन्त्रिपरिषद् विस्तार गर्नु गलत भएको टिप्पणी गरेका हुन ।

उनले नेमकिपा प्रतिपक्षमै बसेर देशको हितको लागि लड्ने बताए । कार्यक्रममा वरिष्ठ पत्रकार भैरब रिसालले पत्रकारले सत्य र तथ्य समाचारलाई निरन्तरता दिनुपर्ने औंल्याउँदै पुराना पत्रिकाको म्युजियम खोलेर पछिल्ला पुस्तालाई जानकारी गराउनुपर्नेमा जोड दिए ।