८ माघ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिको अभिभारा अझै पूर्ण हुन नसकेको बताएका छन । किरात राष्ट्रिय मुक्ति मोर्चाले शनिबार काठमाडौमा आयोजना गरेको रामप्रसाद राई नामक पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन ।

दाहालले लामो शसस्त्र युद्धपछि नेपालमा सम्झौता गर्नु परेका कारण क्रान्ति सफलतासम्म जान नसकेको बताए । उनले मुलुकलाई बिकासको दिशातर्फ अघि बढाउनका लागी नयाँ क्रान्तिको आवश्यकता रहेको समेत बताए । प्रधानमन्त्री दाहालले मुलुकको परिवर्तनमा भूमिका खेल्ने र बलिदान दिनेलाई भूल्न खोजे दुर्भाग्य हुने उल्लेख गरे ।

Prachanda talking

प्रधानमन्त्री दाहालले रामप्रसाद राई नेपालको राष्ट्रिय विभूतिका लागि योग्य व्यक्ति भएको र उनलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

देश विविध जातजाति, भाषा, संस्कृति, धर्म र भूगोलका समुदायका आआफ्नै मौलिक पहिचान रहेको उल्लेख गर्दै मुलुकमा जहानिया राणाशासन ढाल्नमा रामप्रसाद राईको योगदान अतुलनीय रहेको उनले स्मरण गरे ।

कार्यक्रममा किरात राष्ट्रिय मुक्ति मोर्चाले राईलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए । जवाफमा प्रधानमन्त्री दाहालले यस बिषयलाई तीन दलको बैठकमा प्रवेश गराउने आश्वासन दिएका थिए ।