९ फागुन, हाउस्टन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सयजनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेलगत्तै सात मुस्लिम बहुल राष्ट्रहरुः इराक, इरान, सिरिया, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई आगामी तीन महिनासम्म र सबैखालका आप्रवासी तथा शरणार्थीहरुलाई आगामी चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने गरी गत २७ जनवरीका दिन जारी गरेको कार्यकारी आदेशको विरोधमा फेरि एकपटक जुलुस प्रदर्शन भएको जनाइएको छ ।

जुलुसका सहभागीहरुले राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशको चर्को विरोध गर्दै आप्रवासी तथा शरणार्थीहरुको समर्थनमा नाराबाजीसमेत गरे । जुलुसले डाल्लासको मुख्य केन्द्र र बजार क्षेत्रको परिक्रमा गरेको थियो । यसपटकको जुलुस र भीड उग्र र हिंसात्मक नदेखिई शान्त रहेको डाल्लास प्रहरीले जनाएको छ ।

जुलुसका कतिपय सहभागीहरुले अमेरिकी झन्डा बोकी ‘से इट लाउड, से इट क्लियर, रेफ्युजिज आर वेलकम हियर’ भनी उच्च स्वरमा नारा लगाएका थिए । जुलुसमा सामेल भएका केही धर्मगुरुहरु तथा नागरिक अगुवाहरुले आप्रवासी तथा शरणार्थीसम्बन्धी राष्ट्रपति ट्रम्पको उक्त नीतिको विरोध जनाए ।

यसैबीच, दक्षिणी टेक्सासको सान एन्टोनियो नगरमा पनि यस्तै प्रकारको विरोध प्रदर्शन भएको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले जारी गर्नुभएको आप्रवासी तथा शरणार्थी र मुस्लिम बहुल राष्ट्रका नागरिकलाई प्रवेश निषेधसम्बन्धी उक्त कार्यकारी आदेशविरुद्ध स्थानीय अदालतमा मुद्दा पर्दा सो कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाउने फैसला भएको थियो ।