१० फागुन, कावासोती । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन ।

नवलपरासी क्षेत्र नं. ३ को चोरमारामा काँग्रेस क्षेत्रीय समितिले गरेको कार्यक्रममा उनले भने – ‘संविधान कार्यान्वयनका लागि घोषित स्थानीय निर्वाचनलाई सफल बनाउनुपर्दछ ।’

महामन्त्री कोइरालाले स्थानीय निर्वाचन घोषणा भएकाले अव त्यसलाई सफल बनाउनुको विकल्प छैन् भन्दै चुनावमा सक्रियताका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

मधेसी मोर्चा असन्तुष्ट हुँदा संविधान कार्यान्वयनमा चुनौती भएको बताउँदै उनले मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्ने दायित्व काँग्रेसमाथि आएकाले यसका लागि मोर्चासँग छलफल गरी अगाडि बढ्ने बताए ।

महामन्त्री कोइरालाले आगामी वैशाख ३१ गतेलाई निर्वाचनको मिति तय गरिएकाले मधेसी मोर्चासहितका असन्तुष्ट दलहरुसँग वार्ता गरेर समस्याको समाधान गर्ने बताउँदै सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा काँग्रेस जिल्ला सभापति विष्णु लामिछाने, काँग्रेस नेता कृष्णचन्द्र नेपाली, क्षेत्र न.३ का क्षेत्रीय सभापति जगतबहादुर कार्की, क्षेत्रीय सचिव धनसिङ बोहोरालगायतले स्थानीय चुनावमा काँग्रेस भूमिकाका विविध पक्षमाथि प्रकाश पारे । रासस