१३ चैत, काठमाडौँ ।

‘क्युट’ अर्थात् सुन्दर नायिका भनेर चिनिएकी अभिनेत्री झरना थापा आज अर्थात् चैत १३ गते ३८ बर्ष पुगेकी छिन् ।

२० बर्षअघि फिल्म ‘कर्मसंकट’बाट नेपाली रजतपटमा पाइला टेकेकी अभिनेत्री झरनाले सयभन्दा बढी फिल्ममा काम गरिसकेकी छिन् । फिल्म निर्माता सुनिल कुमार थापासँग विवाह गरेपछि पनि झरना फिल्म क्षेत्रमा उत्तिकै सक्रिय रहिन् । सुनिल र झरनाकी एक छोरी छिन् ‘सुहाना’, जसलाई फिल्ममा ल्याउने तयारीमा छिन् झरना ।

केही समय यता फिल्म अभिनयमा नदेखिएकी झरना फिल्म ‘ए मेरो हजुर –२’बाट निर्देशकको रुपमा कलिउडमा आउँदैछिन् । ‘ड्रिम्स’ गर्ल साम्रागी राज्यलक्ष्मी शाहको मुख्य अभिनय रहेको यस फिल्म २०७४ को भदौ–१६ मा रिलिज हुने बताइएको छ ।

आफ्नो जन्मदिनको अवसरमा झरनाले आज साझ ‘ए मेरो हजुर–२’को फस्र्ट लुक र एक गीत सार्वजनिक गर्ने बताइएको छ । ‘गोर्खाली’, ‘ए मेरो हजुर’, ‘जिवन साथी’, ‘खलनायक’, ‘म तिमी बिना मरिहाल्छु’, ‘तकदीर’, ‘मुग्लान’आदि झरनाको सफल फिल्महरु हुन् ।