१४ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।

चैत कृष्ण चतुर्दशीका दिनलाई पिशाच चतुर्दशी पनि भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।

चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

“विशेषगरी बालबालिकालाई किचकन्या, मुर्कट्टा आदि नामका नकारात्मक तत्वले दुःख नदिऊन् भनी यो पर्वमा सहरभर घोडा कुदाउने गरिन्थ्यो, घना बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको छ”– उनले भने ।

पहिले भूत, प्रेत आदि नकारात्मक तत्वका कारण कालिमाटी क्षेत्रका मानिससमेत स्युचाटारको कुनामा जग्गा लिएर बस्ने गरेको काठमाडौँवासी बताउँछन् ।

घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ । यो पर्वका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आजका दिन सार्वजनिक बिदासमेत दिने गर्छ । रासस