१५ चैत, काठमाडौं ।
छलफल गर्दै कांग्रेस
कांग्रेस केन्द्रीय सदस्यहरुले संविधान संशोधन प्रस्ताव टुंगोमा पुर्याउन नेतृत्वलाई दबाब दिएका छन् । संविधानप्रति असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउन कांग्रेससमेत सहभागी सरकरकाले संसदमा पेस गरेको संशोधन प्रस्ताव अलपत्र छाडेर निर्वाचनमा जान नहुने बहुमत केन्द्रीय सदस्यको राय छ ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी केन्द्रीय समिति बैठकमा सोमबार आनन्दप्रसाद ढुंगाना, दीपक गिरी, जीवनबहादुर शाही सहितले संसदीय व्यवस्था अनुसार प्रस्ताव टुंगो लगाएर चुनावमा जानुपर्ने धारणा राखेका हुन् । संशोधन बीचमै रोकेर निर्वाचनमा जान उचित नहुने भन्दै संसदीय प्रक्रियाबाट आएको परिणामलाई सबैले आत्मसात गर्नुपर्ने उनीहरुले बताए ।

उम्मेदवार छान्दै एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह चुनावका लागि आन्तरिक तयारी सुरु गरेको छ । १५ दिने मेचीकाली राष्ट्रिय अभियानबाट फर्के लगत्तै बसेको स्थायी कमिटी बैठकले स्थानीय तहका उम्मेदवार छनोट मामदण्ड निर्धारण गरिसकेको छ । एमालेले अबका सबै गतिविधि चुनाव केन्द्रित गर्ने भएको छ ।
पार्टीले स्थानीय तहअनुसार आफ्नो सबै पार्टी संरचना निर्माण गर्न तल्ला कमिटीहरुलाई निर्देशनसमेत दिइसकेको एमालेका सचिव प्रदीप ज्ञवालीले बताए । एक साताभित्र सबै संगठन निर्माण हुने ज्ञवालीको भनाइ छ ।

घोषणापत्रमा माओवादी
स्थानीय तहको वैशाख ३१ गते हुन लागेको चुनावमा सत्तारुढ नेकपा माओवादी केन्द्रले आन्तरिक तयारी तीव्र पारेको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ संविधानप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचनका लागि मनाउन कोसिस गरिरहेको भए पनि माओवादी केन्द्रले आन्तरिक रुपमा भने चुनावी अभियान तीव्र पारेको हो । माओवादी केन्द्रले देव गुरुङको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ ।