२१ चैत, काँकडभिट्टा (झापा)।
उन्नाइस वर्षपछि हुन लागेको स्थानीय तहको चुनावको चहलपहल हरेक मतदाताको आँगनसम्म आइपुगेको छ । वैशाख १६ गते उम्मेदवारको मनोनयन हुने र वैशाख ३१ गते मतदान हुने गरी निर्वाचन आयोगले चुनावी कार्यतालिका पहिल्यै सार्वजनिक गरिसकेको हुँदा यतिबेला झापा चुनावी उत्सवमा होमिइसकेको छ ।

यो चुनावी उत्सवको माहोलबाट एक लाख ११ हजार सात सय ९७ जनसङ्ख्या भएको सुदूरपूर्वको मेचीनगर नगरपालिका पनि क्रमशः तात्दै गएको छ । चुनावको मुख्य सारथी राजनीतिक दलले टोल टोलसम्म कार्यकर्ताको भेला र बैठकलाई घनिभूत तुल्याउन थालिसकेका छन् भने सम्भावित उम्मेदवारको नाम सामाजिक सञ्जाल र चिया गफमा समेत चर्चाको विषय बन्न थालिसकेको छ ।

चुनावमा कसले जित्ला र कसको जनाधार कति छ भन्नेतिर भन्दा पनि यतिबेला कस्ता अनुहार भोट माग्दै आऊलान् भन्नेतिर आम नगरवासीको चासो बढ्दै गएको देखिन्छ । लामो अवधिपछि र राज्यको नयाँ पुनःसंरचनाबमोजिम अधिकारसम्पन्न स्थानीय सरकारकै स्वरुपमा हुन लागेको चुनावमार्फत नगर सत्ताको नेतृत्व लिन दल तथा नेताको दौडधूप स्वाभाविकै लाग्छ । चुनावमा दल वा स्वतन्त्र माध्यमबाट उम्मेदवारी दिन पाइन्छ । झापामा ३१ दल दर्ता छन् र मेचीनगरमा एक दर्जनभन्दा बढी दल कुनै न कुनै रुपमा क्रियाशील छन् । ती दलमध्ये मेयरमा थुप्रै महिला आकाङ्क्षी छन् । तर अधिकांश दललाई तपार्इंको पार्टीबाट महिला मेयरका आकाङ्क्षी को–को छन् भनेर राससले सोधेको प्रश्नमा उनीहरु महिला मेयरको नाम नै लिनै चाहँदैनन् फटाफट पुरुषको नाम बताउँछन् ।

नयाँ सोच र नयाँ दृष्टिकोणका साथ राजनीतिमा होमिएको बताउने नयाँ शक्ति पार्टीले मेचीनगरमा मेयरमा महिलालाई उम्मेदवार बनाउने बलियो सम्भावना छ । यदि यो पार्टीले मेयरको उम्मेदवार महिलालाई बनाउने निश्चित भएमा पनिता ढकाल पर्ने पक्कापक्की छ । आसन्न चुनावमा मेचीनगरको मेयर पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारको टिकटका दाबेदार विमल आचार्य र राम कट्टेल रहेका छन् ।

आचार्य पार्टीको जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि भइसकेका सामाजिक व्यक्तित्व हुन । कट्टेल पार्टीका जिल्ला उपाध्यक्ष तथा मेची अञ्चल अस्पताल विकास समितिका अध्यक्षसमेत हुन । ठूलो जनाधार भएको काँग्रेसमा उपमेयरको टिकट महिलालाइ जाने निश्चित छ । मेयर वा उपमेयर एक पदमा महिला अनिवार्य उम्मेदवार बनाउने कानुनी बाध्यता भएकाले पार्टीका तर्फबाट मेयरमा पुरुषको चर्चा मात्रै भएकाले महिलालाई उपमेयरको उम्मेदवार बनाउने पार्टीको तयारी देखिन्छ ।

त्यसैगरी, नेकपा (एमाले)बाट विष्णु प्रसाईं र गोपाल बुढाथोकी मेचीनगरको मेयर पदको उम्मेदवारका दाबेदार हुन् । प्रसाईं झापा जिविसको उपसभापति भइसकेका र पहिलो संविधानसभाको चुनावमा पार्टीका तर्फबाट उम्मेदवार बनिसकेको व्यक्ति हुनुहुन्छ । बुढाथोकी पार्टीको जिल्ला सचिवालय सदस्य, क्षेत्रीय इञ्चार्जलगायत विभिन्न जिम्मेवारीमा छन् ।

यसैगरी, उपमेयरमा एमालेले पनि काँग्रेसकै जस्तो महिलालाई उम्मेदवार बनाउने नीति अख्तियार गरेको देखिन्छ ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)ले मेचीनगरको चुनावमा काँकरभिट्टाका क्याम्पस प्रमुख यज्ञराज प्रसाईं, प्रखर आदिवासी नेता हंसलाल राजवंशी र युवानेता प्रकाश भण्डारीमध्ये एकजनालाई मेयरको उम्मेदवार बनाउने सम्भावना छ । यहाँ पनि महिलालाई उपमेयरको टिकट भागमा पर्ने निश्चित छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयरमा अशोक सुब्बा र उपमेयरमा सविना बजगाईंलाई उम्मेदवार चुनिसकेको छ । अन्य साना दल पनि यतिबेला उम्मेदवार छान्ने काममा जुटिरहेका छन् । रासस