३ वैशाख, काठमाडौं ।

कांग्रेसमा अमरेशकुमार सिंह बेलाबखत फरक खालका प्रतिक्रियाका कारण चर्चामा आइरहन्छन् । आफ्नो बोलीका कारण सिंहले बेलाबेलामा पार्टीभित्रै आलोचना बेहोर्नु पर्दैन सिनियर नेताको खप्की पनि खाने गरेका छन् । एकपटक पार्टी नीति विपरीत बोलेको भन्दै सिंहलाई गिरिजाप्रसाद कोइरालाले बैठक चलेकै बेला अगाडि बोलाएर हप्काएका थिए ।

शनिबार पार्टी पदाधिकारीहरुले नेपाली कांग्रेसका २ नम्बर प्रदेशका केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुबीच चुनावी तयारीको अवस्था, चुनाव गर्न सकिने वा नसकिने विषयको छलफलमा उनै सिंह फरक प्रतिक्रियासहित देखिए ।

सिंहले पृथकतावादी आन्दोलनलाई उठाउँदै गरेका सिके राउतको पक्षमा आफ्नो मत दिएका हुन् । तर, राउतलाई अन्यायपूर्वक पक्राउ गरिएको भन्दै बोले पनि उनलाई कसैले पनि नबोल्न भनेनन् ।

‘विप्लवले हतियार उठाउने कुरा गर्दा केही नगर्ने, तर, सिके राउतलाई पक्राउ गर्ने यो कहाँको न्याय होे ?’ सिंहको भनाई उद्यृत गर्दै नेपाली कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘यस्तै अन्याय भइरहने हो भने भोलिका दिनमा सिके राउतसँग वार्ता गर्नुपर्ने दिन पनि आउन सक्छ । यस्ता कुरामा ध्यान दिउँ ।’

सिंहले यसो भन्दै गर्दा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पनि बैठकमै थिए तर, कुनै प्रतिक्रिया जनाएनन् । ‘सिंहले राउतलाई अन्याय भयो भनिरहँदा पनि नेताहरुले कुरा सुनिरहनु मात्र भयो तर, कुनै प्रतिक्रिया जनाउनुभएन ।’, कांग्रेसका एक केन्द्रीय सदस्यले भने।

मधेस स्वराज भन्ने अभियानका साथ तराई मधेसमा तालिम जस्ता शंकास्सपद गतिविधि गर्दै आएका राउतलाई प्रहरीले पक्राउ गर्दै छोड्दै आएको छ ।