१४ वैशाख, काठमाडौँ ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय एकतालाई बलियो बनाउन एकै चरणमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले दुई चरणमा हुने स्थानीय तहको निर्वाचन राष्ट्रको हितमा नभएको बताएका हुन । उनले भने – “संविधान संशोधन गरेर एकै चरणमा निर्वाचनमा जाऔँ ।”

अध्यक्ष यादवले लाखौँ जनता मतअधिकारबाट वञ्चित भएको अवस्था र स्थानीय तहको सङ्ख्या टुङ्गो नलागिसकेको अवस्थामा यसलाई समेटेर निर्वाचनमा जानुपर्ने बताए । उनले भने – “स्थानीय तहको सङ्ख्या बढाउने निर्णयबाट पछाडि हट्नु सरकारको निर्णय ‘कुहिरोभित्रको काग’ जस्तो हो ।”

उनले संविधान संशोधन पारित भए आगामी निर्वाचनमा आफ्नो पार्टी देशभरि चुनाव लड्ने बताउँदै निर्वाचनमा तराईका विभिन्न राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीसँग सहकार्य गर्ने स्पष्ट पारे ।

अध्यक्ष यादवले आयोगमा दर्ता भएका दलहरुलाई निर्वाचन चिह्न दिनुपर्ने बताउँदै नदिएको अवस्थामा आगामी निर्वाचनमा समझदारीका आधारमा नयाँ शक्तिलाई आफ्नो चुनाव चिह्न दिने सहमति भएको बताए । रासस