३० बैशाख, काठमाडौं ।

पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ्ले मतदाता परिचयपत्र वितरणमा केही समस्याहरु देखा परेको गुनासो गरेका छन् । त्यस्तै उनले मतदाता शिक्षा कार्यक्रमलाई पनि भनेजस्तोगरि प्रभावकारी रुपमा अघि बढाउन नसकेको गुनासो पोखे ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘निर्वाचन आयोगले यो छोटो समयमा पनि निकै चुस्त, दुरुस्त र राम्रो तयारी गरेको छ, तर मतदाता परिचयपत्रमा सामान्य त्रुटिहरु देखा परेका छन्, यसमा पनि आयोगले वैकल्पिक व्यवस्था गरिसकेको छ, यो अत्यन्तै सकारात्मक कुरा हो ।’

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिए । निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गराउनको लागि सबै सचेत नागरिक, मिडियाकर्मीहरुको पनि उल्लेखनीय भूमिका हुने भएकोले त्यतातिर ध्यान दिन आग्रह गरे ।

निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले निर्वाचन आयोगले नामावलीमा नाम भएका तर मतदाता परिचयपत्रमा समस्या भएकाहरुलाई पनि सरकारी परिचयपत्र नागरिकता, सवारी चालक अनुमतिपत्र र ०७० को संविधानसभाको परिचयपत्रको आधारमा भोट हाल्ने व्यवस्था मिलाईसकेको स्पष्ट पारे ।

शर्माले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले यो महाअभियानमा सरिक हुन सम्पूर्ण मतदाताहरुलाई आग्रह समेत गरे । उनले आयोगले सम्पूर्ण व्यवस्था गरिसकेको समेत जानकारी दिए । उनले भने,‘अब ढुक्क भएर मत हाल्नुहोस्, यो महाअभियानलाई सफल बनाउनुहोस् ।’