३० मंसिर, गजुरी (धादिङ), । दक्षिणी धादिङको महादेवस्थान गाविस–३ ब्रुसवाङका चेपाङगाउँमा सोलार वितरण गरिएपछि झिलिमिली भएको छ । गाउँको सबै घरमा सोलारको बत्ती बाल्न पाएपछि गाउँमा नाचगानसमेत भएको छ ।

चेपाङको मात्र बसोबास रहेको २६ घरपरिवारका लागि २६ वटा सोलार प्यानल र यसका लागि आवश्यक तार र चारवटा बत्तीसमेत उपलब्ध गराएपछि गाउँमा खुसी छाएको हो । शान्ति नेपालको सक्रियतामा वैकल्पिक उज्यालो सोलार कम्पनीले प्रत्येक घरले ५०० रुपैयाँ उपलब्ध गराएपछि गाउँमा सोलार जडान गरिएको हो ।

खानेपानी, शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकताहरुबाट वञ्चित चेपाङ समुदायले बत्तीको उज्यालो पाउन पनि अन्य अधिकारहरुको उपभोग गर्न नपाएको उनीहरुले गुनासो गर्दै आएका छन् । गाउँमा खानेकुरा नभएका करण वर्षको नौ महिना जङ्गली कन्दमूल, गिट्ठा, भ्याकुर, सिस्नुको साग र खोलेखाएर जीवन निर्वाह गर्दै आइरहेका छन् ।

विपन्न गाउँमा सोलार उपलब्ध गराएर आफूहरुले राम्रो काम गरेको सहयोगी संस्था शान्ति नेपालमा कृष्णमान श्रेष्ठले बताउनुभयो । गाउँमा पुस लाग्दा गाउँमा चिसो बढेका कारण बुढाबुढी र बालबालिका बिरामी पर्न थालेका छन् । रासस