maghe sakranti१ माघ, काठमाडौ । आज माघ १ गते, माघे संक्रान्ति पर्व । देशभर घिउ, चाकु र तरूल लगायतका परिकार खाएर माघे संक्रान्ति मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ ।

आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गए राति नै पकाइएको तरूल, सेलरोटी, चाकु, लड्डु तथा घिउ लगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने प्रचलन छ ।

माघे संक्रान्तिको अवसरमा तनहुँको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बदिर्याको ठाकुरद्धारा लगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गरेका थिए ।

थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँदैछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलाली लगायतका जिल्लामा माघीको विशेष रौनक छाएको छ ।