saraswati

माघ शुक्ल पञ्चमी अर्थात बसन्त पञ्चमीका दिन माता सरस्वतीको पूजा गर्ने गरिन्छ। बेद, पुराणमा पनि माता सरस्वती आजकै दिन प्रकट भएको भनिएको छ।

 

 

त्यसैले बसन्त पञ्चमीलाई सरस्वतीको जन्मोत्सव को रुपमा पनि मनाउने गरिन्छ। सरस्वती मातालाई वाणी तथा ज्ञानको भण्डारको रुपमा पनि लिईन्छ। आजको दिन साना साना नानीहरुलाई पढ्न, लेख्न तथा सुर संगीत सिकाएमा सरस्वती माताको कृपाले राम्रो सँग सिक्दछन भन्ने मान्यता पनि रहि आएको छ।

 

 

आजकै दिन अर्थात बसन्त पञ्चमीका दिन विवाह, व्रतबन्ध जस्ता धार्मिक र अन्य सामाजिक कार्य आदि गर्नु परेमा पनि साइत हेरिराख्नु पर्दैन भन्ने जनविश्वास पनि रहेको छ। साथै आजकै दिनबाट होली पर्व शुरु हुने तथा ऋतु परिवर्तन हुने धार्मिक मान्यता पनि रहेको छ।

 

यिनै ज्ञान, विद्या तथा वाणीले भरिपुर्ण देवीको जन्म कसरी भएको रहेछ जानौं। पुराणमा देवी सरस्वती प्रकट भएको कथा अनुसार, सृष्टिको निर्माण कार्य पुरा गरेपछि ब्रह्माजीले जब आफैले बनाएको सृष्टिलाई नियालेर हेरे तब उनलाई उनको सृष्टि मृत शरीर जस्तै शान्त लाग्यो, न कुनै स्वर न बोली।

 

आफ्नो उदासिन सृष्टि देखेर ब्रह्माजी आफै दु:खी भए र भगवान विष्णुसँग आफ्नो उदासिन सृष्टिको बारेमा बताए। यो कुरा सुनेर भगवान विष्णुले ब्रह्मालाई भने तपाई देवी सरस्वतीलाई बोलाउनुहोस।

 

 

यो समस्या उनले नै समाधान गर्न सक्छिन। भगवान विष्णुले भने अनुसार ब्रह्माजीले देवी सरस्वतीलाई आह्वान गरे । देवी सरस्वती हातमा वीणा लिएर प्रकट भईन। ब्रह्माजीले उनलाई आफ्नो वीणाको माध्यमबाट सृष्टिमा स्वर भर्नको लागि अनुरोध गरे।

 

 

देवी सरस्वतीले जब वीणाको तारलाई छोएकी थिइन तब वीणाबाट “सा” शब्द निस्कियो। भनिन्छ यहीबाट नै संगीतको पहिलो सुरको जन्म भएको थियो। “सा” स्वरको कम्पनबाट ब्रह्माजीको सृष्टिमा ध्वनीको संचार हुन लाग्यो।

 

 

हावा, सागर, पशुपंक्षि एवम् अन्य जीवमा वीणाको मधुर ध्वनी सुनिन लाग्यो। नदीबाट कलकल ध्वनी गुन्जिन थाल्यो। यसरी ब्रह्माजीको मृत सृष्टिमा माता सरस्वतीले प्राण भरिदिएकी थिईन। यसबाट ब्रह्माजी अति प्रसन्न भएर सरस्वतीलाई वाणीको नामबाट सम्बोधन गर्दै वागेश्वरी नाम दिए थिए ।

 

साथै हातमा वीणा भएकोले उनलाई वीणापाणि पनि भन्ने गरिन्छ। उनै हातमा विणारुपी सरस्वती माताले हामी सबैको जिन्दगीमा मधुर ध्वनी छर्न सकुन् ।

 

 

या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |

या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना ||

या ब्रह्माच्युतशंकरप्रभ्रृतिभिर्देवै: सदा वन्दिता |

सामां पातु सरस्वतीभगवतीनिःशेष जाड्यापहा ||

शुक्लां ब्रह्मविचार सार परमां आद्यां जगद्व्यापिनीं

वीणा पुस्तक धारिणीं अभयदां जाड्यान्धाकारापाहां|

हस्ते स्फाटिक मालीकां विदधतीं पद्मासने संस्थितां

वन्दे तां परमेश्वरीं भगवतीं बुद्धि प्रदां शारदां||