१५ फागुन,खोटाङ। पादक पदार्थ सेवन गरेर घर फर्कनेक्रममा भीरबाट लडेर खोटाङमा एक वृद्धको ज्यान गएको छ । जिल्लाको उत्तरी गाविस सप्तेश्वर–५ का ७१ वर्षीय गणेश विश्वकर्माको बुधबार साँझ ज्यान गएको हो ।

 

छिमेकी गाविस बाक्सिलामा लाग्ने बुधबारे हटियामा दिनभर रक्सी सेवन गरेका विश्वकर्मा घर फर्कने क्रममा बाक्सिला–७ स्थित साक्सिला भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘टन्न रक्सी खाएर मातेका विश्वकर्माको लडेकै ठाउँमा ज्यान गएछ ।’

 

प्रहरीका अनुसार दिनभर रक्सी सेवन गरेर मातेका विश्वकर्मा नातीसँगै घर फर्कँदै गरेका थिए । प्रायः दैनिक मातेर हिड्ने विश्वकर्मा बुधबारे हटियामा नातीसँगै किनमेल गर्न गएका थिए ।

 

मृतक विश्वकर्माको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइको प्रहरीले जनाएको छ ।