१० चैत,काठमाडौं । मलेसियाका विकास संवाहक पूर्वप्रधानमन्त्री डा. महाथिर मोहम्मदको प्रवचन सुन्न भेला भए उद्यमी–व्यवसायीदेखि अहिले र पहिलेका मन्त्री र प्रधानमन्त्रीहरू उपस्थित थिए ।

सन् १९२५ मा जन्मेका डा. महाथिर बिन मोहम्मद आधुनिक मलेसियाका पितासमेत भनेर चिनिन्छन् । चिकित्साशास्त्र अध्ययन गरेका महाथिर युनाइटेड मलायाज नेसनल अर्गनाइजेसन (युएनएमओ)मा सक्रिय थिए । सन् १९६४ मा संसद् सदस्य निर्वाचित भएका उनी अर्को चुनावमा पराजित भएका थिए । १९७४ मा शिक्षामन्त्री भएका महाथिर सन् १९७९ मा उपप्रधानमन्त्री बन्न सफल भए । १९८१ देखि २००३ सम्म लगातार चारपटक उनी प्रधानमन्त्री निर्वाचित भएर २२ वर्षसम्म देशको तीव्र आर्थिक विकासको नेतृत्व गरे ।

Mahathir-bin-Mohamad

महाथिरको नेतृत्वमा मलेसियामा तीव्र गतिमा भौतिक पूर्वाधार निर्माण भए । महाथिर प्रधानमन्त्री हुँदा १२ अर्ब डलर रहेको मलेसियाको अर्थतन्त्र उनकै कार्यकालमा २ खर्ब १० अर्ब डलर पुग्यो । उनले अर्थतन्त्रलाई साढे १७ गुणा वृद्धि सम्भव तुल्याए । सन् १९८० देखि १९९७ मा एसियाली आर्थिक मन्दी सुरु हुँदासम्म मलेसियाको अर्थतन्त्र करिब १० प्रतिशतले वृद्धि भएको थियो । निजीकरण, राज्यको स्रोतमा जातजातिको पहुँच र निजी क्षेत्रको प्रवद्र्धनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण आधुनिक मलेसिया निर्माण सम्भव भएको मानिन्छ ।

महाथिरले भने

सर्वप्रथम म नेपालको बिजनेस कम्युनिटीलाई धन्यवाद दिन चाहन्छु जसले मलेसियाको विकासको विषयमा मन्तव्य दिन मलाई आमन्त्रण गर्‍यो । म तपाईंहरूलाई निराश नबनाउन अधिकतम प्रयास गर्नेछु । मलेसिया बहुसांस्कृतिक, बहुजातीय देश हो भन्ने धेरै नेपालीलाई थाहा होला भन्ने मलाई लाग्छ । बहुसांस्कृतिक देशमा शासन गर्न आफैमा समस्या छ किनकि विभिन्न जात र समुदायका जनता आपसमा भिडिरहेका हुन्छन् । तर, दोस्रो विश्वयुद्धलगत्तै हाम्रा अग्रजहरूले देशमा स्थिरता चाहिन्छ भन्ने विषयलाई महत्त्व दिए । स्थिरताका लागि जातीय तथा सांस्कृतिक तनाव नहोस् भनेर पनि निश्चित गर्नु थियो । यसका लागि उनीहरूले देशका सबै समुदायमा आर्थिक स्रोतको वैज्ञानिक वितरण हुने व्यवस्था मिलाए, कारण यही हो आधा शताब्दी बितिसक्दा पनि मलेसिया स्थिर र शान्तिपूर्ण छ ।

देशको भविष्य बदल्न आर्थिक अवस्था नै सुदृढ गर्नुपर्छ । अर्थतन्त्रलाई एउटा ‘केक’ मानौँ न, त्यसको निर्माणमा हाम्रो मुख्य ध्यान गयो । पहिलो कुरा हामीले सोच्यौँ, जनतासँग न्यायिक आयको स्रोत हुनुपर्छ । मलेसिया स्वतन्त्र हुँदा ५० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि थिए । गरिबी निवारण गर्न हामीले निर्णय गर्‍यौँ, भूमिहीनका लागि भूमि उपलब्धै हुनुपर्छ । यो हामीले गर्‍यौँ पनि । हामीले यति तीव्र गतिमा गर्‍यौँ कि अझ धेरै जनतालाई वितरण गर्न हामीसँग निकै थोरै जग्गा थियो । त्यसपछि हामीले सोच्यौँ, देशमा औद्योगिकीकरण गर्नुपर्छ । तर, त्यो निकै कठिन थियो किनकि हामीसँग त्यस्तो ज्ञानको पृष्ठभूमि थिएन, हामीसँग पुँजी थिएन, त्यो पुँजी परिचालन गर्ने सिपालु जनशक्ति थिएन र उत्पादन बिक्री गर्ने बजार थिएन । त्यसैले हामीले सोच्यौँ– अब विदेशी लगानीकर्तालाई बोलाउनुपर्छ जसले आफ्नो पुँजी र सीप लिएर हाम्रो देशमा उद्योग खडा गरून् र हाम्रा जनतालाई रोजगार दिऊन् । हाम्रो विशुद्ध उद्देश्य थियो, हाम्रा जनताले रोजगार पाऊन् र राजस्वबाट राज्य समृद्ध बनोस् । यो हाम्रो योजनाले साँच्चै काम गर्‍यो, रोजगारीका असंख्य अवसर सिर्जना भए । स्थिति यस्तो सिर्जना भयो, हाम्रा उद्योगमा काम गर्न हाम्रै जनतालाई भ्याइनभ्याई भयो र विदेशबाट कामदार बोलाउनुपर्‍यो । अहिले मलेसियामा ३० लाखभन्दा बढी विदेशी कामदारले रोजगारी पाइरहेका छन्, त्यसमा करिब पाँच लाख त नेपाली नै छन् ।

जनताले रोजगारी त पाए, तर हामीले फेरि सोच्यौँ, जनताको आम्दानी पनि धेरै हुनुपर्छ । आम्दानी धेरै हुन कामदारको सीप पनि बढ्नुपर्छ । त्यसका लागि हामीले जनताको प्राविधिक दक्षतामा ध्यान दियौँ । सौभाग्यवश, यो वेलासम्म हाम्रो सरकारको कोषमा पर्याप्त पैसा भइसकेको थियो जसले जनताको शिक्षामा खर्च गर्न सक्थ्यो । हामीले प्राथमिक शिक्षा सम्पूर्ण रूपमा नि:शुल्क गरायौँ, माध्यमिक र विश्वविद्यालयको शिक्षामा असंख्य छात्रवृत्ति सिर्जना गर्‍यौँ । र, सरकारले नै छात्रवृत्ति दिएर विद्यार्थीलाई विदेश पठाउने व्यवस्था मिलायौँ । अहिले तपाईं हेर्नुस्, विश्वका सबैजसो ठूला विश्वविद्यालयमा मलेसियाली विद्यार्थी पढिरहेका छन् । उनीहरूले आफ्नो उन्नत आम्दानीको स्रोत बनाउन इन्जिनियरिङ, कानुन, व्यवस्थापन र प्राविधिक शिक्षा पढिरहेका छन् । एक दिन उनीहरू स्वदेश फर्किन्छन् र देशको विकासमा पनि योगदान गर्छन् । देशका लागि योभन्दा ठूलो उपलब्धि के हुन्छ ? जब दक्ष जनशक्तिले काम गर्छ, उद्योग व्यवसायले राम्रो आम्दानी गर्छ । जब उद्योग व्यवसायले राम्रो आम्दानी गर्छ, राज्यले झन् धेरै राजस्व पाउँछ । र, त्यही राजस्वबाट सरकारले जनताका लागि सडक, खानेपानी, विद्युत्, विमानस्थल र विद्यालय बनाउन सक्छ । यही चक्रबाट देश समृद्ध हुन्छ र जनताको जीवनस्तर माथि जान्छ ।

आजका दिनमा पनि मलेसिया समृद्ध देश होइन, तर हामीलाई विश्वास छ, सन् २०२० सम्म हामी त्यो गन्तव्यमा पुग्नेछौँ । यो बीचमा हामीले देशको राजनीतिमात्र होइन आर्थिक स्रोत पनि व्यवस्थापन गरेका छौँ । राजनीतिको हकमा शक्ति बाँडफाँड गर्ने नीतिले असाध्यै राम्रो काम गरेको छ । हामीकहाँ गठबन्धनको अनौठो परम्परा छ । दलहरूले आआफ्ना पहिचान कायम राख्छन्, तर चुनावअघि गठबन्धन बनाउँछन् । त्यस्ता गठबन्धनले दुईतिहाइ बहुमत ल्याउने सम्भावना बलियो हुन्छ । राजनीतिक स्थिरताका लागि तपाईंलाई दुईतिहाइ चाहिन्छ । तपाईंले चाहेको योजना कार्यान्वयन गर्दा विपक्षले विरोध गर्न सक्छन्, तर सरकार ढलाउन सक्दैनन् । यस्तो अवस्थामा विपक्षीका सरोकारलाई आवश्यकताअनुसार समेटेर सरकार आफ्नो योजनामा अघि बढिरहन सक्छ ।

विकासका लागि हामीकहाँ पाँचवर्षे, १० वर्षे र ३० वर्षे योजना पनि छन् । र, हाम्रा यी सबै विकास योजनालाई दक्ष प्रशासनबाट सञ्चालन गरिरहेका छौँ । दक्ष कामदार, समझदार व्यवस्थापन र सहयोगी सरकारका कारण हाम्रा योजनाहरू सफल भइरहेका छन् । ती योजना साँच्चै कागजमा सीमित छैनन् किनकि योजनामा खर्च गर्न हामीसँग पैसा पनि छ ।

म प्रधानमन्त्री हुँदा नै सबै कुरा व्यवस्थित थियो । पूर्वप्रधानमन्त्रीहरूलाई नै यसको जस जान्छ । उनीहरूले विकासको एउटा पद्धति बनाइसकेका थिए, मैले त्यसलाई अझ सुधार गरेर समृद्ध बनाएको हुँ । यो त्यति अप्ठ्यारो थिएन, तैपनि हामीले केही चुनौतीहरू सामना गर्‍यौँ र एउटा उद्यमी राष्ट्र बन्यौँ । एक समयमा मलेसिया विश्वको १७औँ ठूलो व्यावसायिक देश थियो र यसमा थुप्रै देशसँग हाम्रो सहकार्य थियो । उनीहरूले राम्रो नगरेको भए हाम्रो अर्थतन्त्र पनि धरापमा पथ्र्यो । अहिले भर्खरकै कुरा, हाम्रो ४० प्रतिशत निर्यात युरोप र अमेरिकामा हुन्थ्यो, तर उनीहरूको अर्थतन्त्र बिग्रँदा हामीले नयाँ बजार खोज्नुपर्‍यो । नयाँ बजार खोज्न पनि हामी सफल भयौँ, त्यसैले देशको आर्थिक वृद्धिदर अहिले पनि ५ दशमलब ५ प्रतिशत छ । यसले एक समृद्ध देश बन्ने हाम्रो योजनामा कतै अवरोध परेको छैन । हाम्रो लागि समृद्ध देश बन्ने भनेको प्रतिव्यक्ति आयमा मात्र निर्भर छैन, अत्याधुनिक जीवनस्तर पनि हो । हाम्रा जनता त्यस्ता हुनुपर्छ जोसँग पूर्ण क्षमता होस् । हाम्रा जनता त्यस्ता हुनुपर्छ जसले आविष्कार गर्न सकून्, लेख्न सकून्, बोल्न सकून्, आ–आफ्नो क्षेत्रमा उन्नति गर्न सकून् र देशलाई उन्नत बनाउन योगदान गर्न सकून् । अब यो त्यत्रो ठूलो काम होइन किनकि हाम्रो देशका अग्रजहरूले समाजलाई स्थिर बनाउन जनतालाई सहकार्यमा लगाउन र आफ्नोतर्फबाट योगदान गर्न सिकाएका छन् । सहकार्यको संस्कृति बसेपछि तपाईं लिनजस्तै दिन पनि उत्सुक हुनुहुन्छ । यही नै प्रजातन्त्र पनि हो ।

हामीलाई आरोप लाग्छ, हामी पर्याप्त प्रजातान्त्रिक छैनौँ । तर, कम्तीमा हामीले आवधिक चुनाव गरिरहेका छौँ, चुनावमा जाने दलहरूले जनतामा वाचा गर्छन् र सरकारमा गएर ती प्रतिबद्धता पूरा गर्छन् । त्यसैले तिनै प्रधानमन्त्री र मन्त्री पुन: निर्वाचित भएर आउँछन् । र, १४ वटा दलको सम्म गठबन्धन बनाएर स्थिर सरकार दिन सकेका उदाहरण छन् । यस्तो अवस्थामा विपक्षीमा भएका दलहरू पनि सत्तारुढ गठबन्धनमा आउँछन् किनकि विरोध मात्रै गरेर उनीहरूले हार्ने सम्भावना हुन्छ । त्यसैले मलेसियामा अहिले लगभग दुईवटा दलमा आधारित प्रजातन्त्र छ । र, सबैजसो चुनावमा दुईमध्ये एउटा दलको गठबन्धनले दुईतिहाइ बहुमत ल्याउँछ । यस्तो भएन भने तपाईंले सरकार बनाउन पुग्ने ५१ प्रतिशत पनि ल्याउन सक्नुहुन्न र कहिल्यै स्थिर सरकार चलाउन पाउनुहुन्न । हाम्रोमा त्यस्तो प्रजातन्त्र होइन समझदारीपूर्ण परम्परा भएको प्रजातन्त्र छ । तर, कतिपय देश जसका लागि प्रजातन्त्र नयाँ छ, उनीहरूलाई यो बुझ्न नै कठिन भइरहेको छ, केही गुमाउनु पनि प्रजातन्त्र हो भन्ने स्विकार्न पनि उनीहरूलाई कठिन भइरहेको छ । धेरै अरब देशहरूमा हामीले यस्तो उदाहरण देख्न सक्छौँ कि तिनीहरूले प्रजातन्त्र तब मन पराउँछन् जब उनीहरू जित्छन् । जब उनीहरूले हार्छन्, सडकमा झन्डा–ब्यानर लिएर प्रदर्शन गरेर सरकार गिराउन खोज्छन् । यस्तो संस्कारले देशलाई अस्थिर बनाउँछ र कहिल्यै विकास हुन दिँदैन ।

राजनीतिक दल र तिनका नेताले जनताको सेवा गर्ने हो, आफ्नै होइन । जब म प्रधानमन्त्री थिएँ, यो भनाइ आपैँmलाई पटकपटक सम्झाइराख्थेँ । तैपनि मलाई तानाशाह भनिन्थ्यो । जहाँसम्म मलाई थाहा छ– तानाशाहहरू राजीनामा गर्दैनन्, तर मैले गरेँ । यति भनेपछि मलाई लाग्छ मैले थप केही भनिराख्नुपर्दैन । मैले मलेसियाको उदाहरण राम्रै तरिकाले दिएँ भन्ने लाग्छ । अब तपाईंहरूको नेपालको विकास गर्ने योजना तपाईंहरू आपैँm बनाउनुस् । मलाई लाग्छ, धेरै सम्भावनाहरूमध्ये पर्यटन नेपालको विकासको सबैभन्दा प्रमुख आधार बन्न सक्छ । हाम्रो मलेसियामा पर्यटनको त्यति धेरै सम्भावना थिएन । मान्छेले हेर्नलायक दृश्य हामी आपैँmले निर्माण गर्नुपर्छ । तर, तपाईंकहाँ प्रकृतिले नै बनाइदिएको छ । त्यसलाई सदुपयोग गर्नुस् । हामीले विदेशी लगानीकर्तालाई आमन्त्रण गर्दा १० वर्षसम्म कर छुट दियौँ । कतिलाई थप १० वर्ष पनि दियौँ र अन्य धेरै सहुलियत दियौँ । त्यसैले विदेशीले लगानी गरे र हाम्रो देशलाई समृद्ध बनाइदिए । नयाँपत्रिकाबाट