१० चैत,काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो दलबाट विभाजित भई गठन भएका पार्टीहरूको मोर्चा बनाउने प्रयास थालेका छन्। यसअन्तर्गत उनले आइतबार नेकपा-माओवादीका संयोजक मातृका यादवसँग वार्ता पनि गरेका छन्।

 

यादवसँगको भेटमा दाहालले पार्टी एकताका लागि जोड दिएका थिए। यादवले भने तत्कालका लागि सहकार्य गर्दै अघि बढ्न उपयुक्त हुने प्रस्ताव राखेको स्रोतले बतायो। नयाँबानेश्वरस्थित एभरेस्ट होटेलको मोहन वैद्य समर्थित मजदुर युनियनको कार्यकक्षमा आइतबार भएको छलफलमा यादवले मोर्चा बनाएर अघि बढ्नु उपयुक्त हुने बताएका थिए।

 

‘हामी दुवैको गल्ती भएको छ। अब गल्ती सच्याएर अगाडि बढौं’, दाहालले यादवसँग भनेका थिए। दाहाललाई जबाफ दिँदै यादवले भनेका थिए, ‘तपाईंले मलाई पार्टीमा राख्नै चाहनुभएन।’ यादवले एक साताअघि सामाजिक सन्जाल फेसबुक स्टाटसमा ‘कसैले कसैलाई सिध्याउने खेलमा नलागौं, बरु सही दिशामा रूपान्तरण हुन एकअर्कालाई सहयोग गरौं’ लेखेका थिए।

prachanda2

‘छरिएर रहेकाहरूले आफूभित्र रहेका गैरमाक्र्सवादी प्रवृत्ति त्याग्न तयार भएर छलफल थाल्नुपर्छ। आआफ्नो मनोगत सोचबाट मुक्त भई वर्तमान अवस्थाबारे साझा निष्कर्ष निकालेर तत्काल मोर्चा बनाई अगाडि बढ्नुपर्छ’, यादवलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले पार्टी एकता होइन मोर्चा बनाएर जाने हो।’

 

दाहाल र यादवबीच थप छलफल गर्ने र माओवादी आन्दोलनमा लागेकासँग सहकार्य गर्न मोर्चा बनाएर अघि बढ्ने समझदारी भएको छ। ‘संयुक्त कार्यक्रम गर्ने समझदारी एक सातामै हुन सक्छ,’ स्रोतले भन्यो।

 

एक नेताका अनुसार कांग्रेस-एमाले नेतृत्वको सरकारले सशस्त्र द्वन्द्वकालका मुद्दा ब्युँताउँदा दुवै पक्षका नेता कार्यकर्ता फस्ने, स्थानीय निकाय निर्वाचन नगराउन प्रतिवाद गर्नुपर्ने, सडक संघर्षबिना अग्रगामी जनसंविधान निर्माण नहुने र कांग्रेस-एमालेले बहुमतबाट संविधान निर्माण गर्ने निष्कर्ष निकाली दुई माओवादी सहकार्यका लागि नजिक भएका हुन्।

 

दाहालले सशस्त्र द्वन्द्वमा सहभागी भएका तर विभिन्न कालखण्डमा विभाजित भएका पार्टीलाई मिलाएर मोर्चा बनाउने प्रयास गरेका हुन्। उनले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसँग पनि यसबारे छलफल गर्दै आएका छन्। उनले क्रान्तिकारी कम्युनिस्ट केन्द्रका महासचिव मणि थापासँग पनि सहकार्य गर्ने चाहना व्यक्त गरेका छन्।

 

एमाओवादी र नेकपा-माओवादीको शीर्ष नेतृत्वबीच भइरहेको अनौपचारिक छलफल पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने तहमा पुगेको छ। राजनीतिक कार्यदिशा र संगठनात्मक जिम्मेवारीको विषय मिलाउन एकता संयोजन समिति गठन गर्न लागिएको स्रोतले बतायो।

 

एमाओवादीका तर्फबाट अध्यक्ष दाहाल र नेता कृष्णबहादुर महरा तथा नेकपा-माओवादीका तर्फबाट अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाबीच भएका छलफल एकता वार्ता संयोजन समिति गठन गर्ने तहमा पुगेको हो।

 

संविधानसभाबाहिर रहेका राजनीतिक शक्तिलाई सहभागी गराएर राजनीतिक सम्मेलन गरी संविधानका अन्तरवस्तुमा सहमति जुटाउने प्रयास भएमा नेकपा-माओवादी पनि सहभागी हुने भएको छ। कांग्रेस-एमालेले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने अवस्था आए एमाओवादी संविधानसभाबाट बाहिरिने विषयमा पनि दुई माओवादीका शीर्ष नेताबीच अनौपचारिक सहमति भएको छ।

 

दाहाल र वैद्यबीच निकटता बढेका कारण एमाओवादी नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ दाहालप्रति रुष्ट बनेका छन्। ‘वैद्यसँग एकता गर्दा आफ्नो भूमिका कस्तो रहने भन्नेमा भट्टराई र श्रेष्ठ दुवै सशंकित देखिएका हुन्’, एक नेताले भने। वैद्यले पार्टी फुटाएपछि एमाओवादीमा भट्टराई दोस्रो र श्रेष्ठ तेस्रो बरियता क्रममा रहँदै आएका छन्।

 

दाहालले नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दसँग पनि छुट्टै छलफल गरेका छन्। ‘नेत्रविक्रम एकताविरोधी हुनुहुन्न, जसरी पनि एकता गर्नुपर्छ भन्ने पक्षमा पनि हुनुहुन्न’, चन्द निकट एक नेताले भने, ‘उहाँले स्पेस खोजेको हुन सक्छ।’ दाहाल पनि चन्दलाई ‘स्पेस’ दिन तयार हुँदै गएका छन्।

 

‘पार्टी एकता गर्नुको विकल्प छैन भन्ने निष्कर्षमा दुवै पक्षका नेता पुगेका छन्। जनयुद्धको जगमा जनविद्रोह र संविधानसभाबाट संविधान निर्माण गरी आर्थिक समृद्धिको दिशामा अघि बढ्ने भन्नेमा मतभेद छ’, स्रोतले भन्यो, ‘दुवैका दस्ताबेज थाती राखेर नयाँ कार्यदिशा बनाउने हुन सक्छ।’ एकता प्रस्तावलाई दुवै पार्टीले केन्द्रीय समितिमा भने लगेका छैनन्। अन्नपुर्ण पोस्टबाट