कालिका खड्का । “दुवै मिर्गौला खराब भएर परिवारले बाँच्छ भन्ने आस मारिसकेका थिए तर आयुर्वेदिक औषधि खाएर अहिले ठीक छ,”–भक्तपुर पेप्सीकोला निवासी ५३ वर्षीय लीला दाहालले भनिन ।

 

“मिर्गौला खराब भएको थाहा भएको दुई वर्ष भयो, पहिला महिले धेरै नै पीडा सहेँ, कुन अस्पतालमा जाँदा ठीक होला भनेर धेरै अस्पताल धाएँ” उहाँले थप्नुभयो, “कुपनटोलको गुरुद्वारास्थित विशेष आयुर्वेदिक केन्द्रका प्रमुख वैद्य गणेशबहादुर राउतकहाँ गएर उपचार गरेपछि अहिले ठीक छ ।”

 

“राष्ट्रिय मिर्गौला केन्द्र, वनस्थली र तीनकुनेस्थित कान्तिपुर अस्पतालमा गएर उपचार गर्दा गर्दै रु एक लाख ५० हजार सकियो तर ठीक भएन” लीलाले उपचार गर्दाको आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “जडीबुटीबाट बनेको औषधि खाएर ठीक भइरहेको छ, डेढ महिना रु दुई हजारको औषधिले पुग्छ ।”

 

मिर्गौला खराबीका कारण बिरामी भएर आयुर्वेदिक औषधि सेवन गर्ने लीला एक्ली होइनन्, नौ दश वर्षदेखि मिर्गौला खराबीका कारण बिरामी पर्नुभएका भरतपुर–९, चितवनका एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य ६० वर्षीय चित्रबहादुर श्रेष्ठले पनि तीन वर्षदेखि आयुुर्वेदिक औषधि सेवन गरिरहेका छन ।

 

“आयुवेदिक औषधि भरपर्दो छ, आर्थिक रुपमा आधुनिक ठुल्ठूला अस्पतालको तुलनामा एक प्रतिशत पनि लाग्दैन” उहाँले भन्नुभयो, “मिर्गौला सामान्य अवस्थामा रहनका लागि १.४ एमजी हुनुपर्छ, मेरो नौ एमजीसम्म पुगेको थियो तर सामान्य अवस्थामै भएको छ ।”

 

आयुर्वेदिक औषधिबाट मिर्गौला उपचार ठीक भएका लीला, चित्रजस्तै क्षेत्रपाटीका ५४ वर्षीय दीपकरत्न शाक्य पनि हुनुहुन्छ । “पहिलाको तुलनामा ठीक भएको छ, औषधि खाइरहेको छु, पूर्ण रुपमा ठीक हुन्छ भन्ने विश्वास छ”, शाक्यले भन्नुभयो, “आयुर्वेदिक औषधिसँगै वैद्यको व्यवहारले मनोबल बलियो भएको छ ।”

 

“प्रत्येक व्यक्तिको मिर्गौला खराब हुने कारण फरक फरक हुन्छ, कसैको चोटपटक, कसैको टायफाइडबाट हुन्छ” वैद्य राउतले भने, “प्रकृतिबाट लागेको रोगलाई प्रकृतिकै जडीबुटीबाट ठीक गर्नुपर्छ, ठीक हुन्छ ।”

 

आधुनिक उपचार पद्धतिमा ‘हेमोडायलोसिस’ बाहेक मिर्गौलाको उपचार सम्भव छैन । हेमोडायलोसिस पूरा भएपछि मिर्गौला प्रत्यारोपण हुन्छ । त्यो नेपाली नागरिकको पहुँचभन्दा बाहिर छ । सामान्यतयाः एक व्यक्तिको उपचार गर्नका लागि रु पाँच लाखभन्दा बढी लाग्छ । “हेमोडायलोसिस र मिर्गौला प्रत्यारोपण ९५ प्रतिशत नेपालीको पहुँच बाहिर छ” राउतले भने, “ आधुनिक उपचारअनुसार मृर्गौला उपचार नेपालीका लागि अत्यन्तै महँगो उपचार हो तर आयुर्वेदिक उपचार त्यति धेरै महँगो छैन, औषधिभन्दा पनि बढी परामर्श गरिन्छ ।”

 

“आयुर्वेदिक क्याम्पसमा अध्ययन गरेर २०६५ सालदेखि मात्र मिर्गौला उपचार सुरु भएको हो” आफूले मिर्गौलासम्बन्धी रोगको अध्ययन गर्न सुरु गर्दाको अनुभव सुनाउँदै राउतले भने । “बाटामा मिर्गौला रोगीहरु उपचारका लागि भीख मागिरहेको देख्थेँ, बारम्बार देखिरहँदा मलाई त्यो कुराले भित्र मनमा छोयो र मिर्गौला रोगको बारेमा अध्ययन सुरु गरेँ, त्यहीअनुरुप अवधारणा विकास गरे ।”

 

“आहार, विहार, जीवनशैली आदिका विभिन्न कारणले मिर्गौलामा समस्या आउँछ, मिर्गौला खराबी भएको छ वा छैन थाहा पाउनका लागि क्रिटिनियन १.४ एमजीलाई सामान्य मानिन्छ, त्योभन्दा बढी भएमा मिर्गौला खराब हुन सुरु हुन्छ,” उनले भने ।

 

“मिर्गौला बिरामीलाई हेमोडायलसिसमा जान नपरे पनि ठूलो राहत हुन्छ, परामर्श बढी औषधि कम गर्नुपर्छ, उहाँले जोड्नुभयो, “आधुनिक उपचार पद्धतिमा औषधि बढी, परामर्श कम हुन्छ, आयुर्वेदिक उपचारमा परामर्श बढी औषधि कम हुन्छ ।”

मिर्गौला रोग लागेमा पैताला सुनिएर आउनु, पिसाबमा समस्या हुनु, पाचन प्रक्रियामा समस्या हुनु, रक्तअल्पता, खानामा अरुचिजस्ता लक्षण देखा पर्दछन् । मिर्गौलाले पिसाब र रगतलाई छान्ने काम गर्ने भएकाले यो मानव शरीरका लागि अति आवश्यक अङ्ग हो । रासस