२१ बैशाख, काठमाण्डौ ।

स्वास्थ्यकर्मीको फोहोर हातका कारण अस्पताल पुग्ने सयमध्ये सातदेखि दस बिरामी कडा संक्रमणमा पर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्ता संक्रमण धेरैजसो एन्टिबायोटिकले नछुने खालका हुन्छन् ।

doctor sample

 

यो दर उच्च आय भएका राष्ट्रमा सयमा ७ र मध्यम तथा निम्न आय भएकामा १० जना रहेको संगठनले जनाएको छ । सघन उपचार कक्षका बिरामीमा सयमा ३० जनासम्म यो समस्यामा पर्छन् ।

नेपालमा अस्पतालजन्य वा स्वास्थ्यकर्मीको फोहोर हातका कारण हुने संक्रमणबारे खास अध्ययन भएको छैन । यहाँ यस्तो समस्या संगठनको तथ्यांकभन्दा धेरै बढी हुन सक्ने त्रिवि शिक्षण अस्पताल, बायोकेमेस्ट्री विभागका प्रमुख प्रा. भरत झाले बताए । स्वास्थ्यकर्मी र चिकित्सकहरूको हात, स्टेथेस्कोप, एप्रन आदि सबैमा संक्रमण देखिन्छ,’ उनले भने, ‘गर्मी मौसम, दूषित वातावरण, बढी पसिना, धूलो आदिका कारण मुलुकमा स्वास्थ्यकर्मीबाट बिरामीलाई हुने संक्रमणको जोखिम उच्च छ ।त्रिवि शिक्षण अस्पतालका सूक्ष्मजीव विशेषज्ञ प्रा. भरतमणि पोखरेलको भनाइ पनि यस्तै छ । हामी कहाँ चिकित्साकर्मीको हातले हुने संक्रमण दर बढी नै होला,’ उनले भने, ‘यस्तो समस्या सबै अति विकसित राष्ट्रको हो ।

स्वास्थ्यकर्मीबाट बिरामीलाई हुने संक्रमणबारे नेपालमा पनि अध्ययन आवश्यक रहेको वीर अस्पतालका निर्देशक डा. बुलन्द थापाले बताए । अस्पतालको वार्ड र बहिरंग विभागमा एउटा बिरामीलाई हेरेपछि साबुन-पानीले हात धोएर मात्र अर्को बिरामी हेर्ने चलन हराउन लागेको उनले औंल्याए । दुई/अढाई दशकअघि फिजिसियनहरू हरेक बिरामी हेरेपछि हात धुन्थे, अहिले त सेता गाउन लगाउनसमेत अप्ठ्यारो मान्दैछन् ।प्राध्यापक पोखरेलले पनि चिकित्साकर्मीले हरेक बिरामीलाई हेर्नुअघि साबुन-पानीले ३० सेकेन्डसम्म हात धुनुपर्ने बताए ।

कान्तिपुर दैनिकबाट