नविन पन्थी । 

५ जेठ, अर्घाखाँची । लगातार खोकी लाग्ने र ज्वरो आउने गरे पछी अस्पताल जँचाउन गएका सन्धिखर्कका श्याम बहादुर बि.क.(नाम परिवर्तन) लाई परिक्षण पछि डाक्टरले क्षयरोग लागेको बताए । क्षयरोग लागेको थाहा पाएपछि अव बाचिन्न भन्दै परिवार छोराछोरी सम्झेर चिन्तामा डुवेका उनले अहिले विस्तारै रोगबाट छुटकरा पाउँदै गएका छन । सुरुको २ महिना प्रत्येक दिन डाक्टरको सम्पर्कमा गएर औषधी खाएको बताउने उनी अहिले हप्तै पिच्छे अस्पताल जान्छन् र औषधी खाने गर्छन ।

 

सन्धिखर्ककै सुमित्रा शर्मा (नाम परिवर्तन) ले पनि क्षयरोग लागेको थाहा पाएपछि मरिने भो भनेर निकै हतोस्साहि भएकी थिइन । स–साना छोराछोरी छोडेर मरिने चिन्ताले आफु कैयौरात नसुतेको उनको भनाई छ । छिमेकमा थाहा पाएर हेला गर्लान भन्दै लुकी–लुकी जिल्ला अस्पताल गएर उपचार गराएकि उनले डट्स सेवाले आफुलाई बचाएको बताएकी छन । रोग लागेको थाहा पाए पछि अब मर्छु भनि डराएकि थिएँ, लगातार ६ महिनासम्म औषधि खाएपछि अहिले निकोभएकी छु, उनले खुशी हुँदै भनिन् ।

 

tb

जिल्लाका अधिकांश क्षयरोगीहरुको यस्तै किसिमको भनाई पाईन्छ । जिल्लामा सञ्चालित क्षयरोग सम्बन्धि डट्स सेवा कार्यक्रम निक्कै प्रभावकारी भएको स्वास्थ्य कर्मीहरुको भनाई छ । १ वर्षको अवधिमा १ सय ८० जना पुरुष र ७९ जना महिला गरी २ सय ५९ जनालाई स्वास्थ्यकर्मिको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने प्रविधि डट्स सेवाबाट रोग निको पारेको जिल्ला स्वास्थ्य कार्यालयका डट्स क्लिनिक ईन्चार्ज शोभाखर पोख्रेलले बताए । क्षयरोग उपचार गरेपछि रोग निको हुने ग्यारेण्टी हुँदा हुँदै पनि अज्ञानताका कारण अझै पनि विरामीहरु रोग लुकाएर घरमै बस्दा ज्यान जाने र रोग सर्ने गरेको पोख्रेलको भनाई छ ।

 

क्षयरोगीहरुले अझै पनि आफुलाई नचिनाई गोप्य रुपमा औषधि खाने गर्छन । अघिल्लो १ वर्षको अवधिमा रोग लुकाएर बसेका र डाक्टरको पहुँचमा समयमै पुग्न नसकेका १८ जना पुरुष र ७ महिला गरी २५ जनाको ज्यान गएको जिल्ला अस्पताल सन्धिखर्कले जनाएको छ । रोगका कारण अन्तिम अवस्थामा पुगेपछि मात्र अस्पताल ल्याएकाले बचाउन नसकेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. नबिन दर्नालले बताए ।

 

जिल्लामा ४२ वटै गाविसमा डट्स सेवाबाट क्षयरोगीहरुको निःशुल्क उपचार गर्ने गरिएको डाक्टर दर्नालको भनाई छ । जिल्ला अस्पताल सन्धिखर्क, प्राथामिक स्वास्थ्य केन्द्र ठाडा, प्राथामिक स्वास्थ्य केन्द्र बल्कोटमा खोकी जाँच गर्ने ल्याबको व्यवस्था मिलाईएको र अन्य स्वास्थ्य संस्थाहरुमा समेत खकार संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।