८ जेठ, काठमाडौ । जनमानसमा योग एवम् अध्यात्मको जानकारी गराउने उद्देश्यले यही जेठ २१ देखि २४ गतेसम्म काठमाडौँको टुँडिखेलमा ‘आफैलाई चिनौं’ योगोत्सव–२०७१ आयोजना हुने भएको छ ।

 

नेपालस्थित भारतीय राजदूतावास, भारतीय सांस्कृतिक केन्द्र, आनन्द योग केन्द्र, काठमाडौँ योग विद्यालय र इशा सेन्टरको संयुक्त आयोजनामा हुने योगोत्सवमा भारतका विहार योग विद्यालय, विश्व योगपीठ मुंगेर, विहारका प्रसिद्ध योग साधक स्वामी नीरञ्जनानन्द सरस्वती परमाचार्यको उपस्थिति रहने छ । स्वामी नीरञ्जनानन्दले व्यक्ति चरित्र, जीवनमा योगको सकारात्मक प्रभाव, तनावपूर्ण जीवनमा योगनिन्द्रको महत्वलगायत बारेमा योग प्रवचन दिने विहार योग विद्यालय, मुंगेर विहार (भारत)बाट आउनुभएको संयोजक स्वामी शिवराजानन्द सरस्वतीका सहयोगी स्वामी अलख शक्तिले राससलाई जानकारी दिनुभयो ।

 

काठमाडौँमा जन्मनुभएकी डा शमा शाही–स्वामी अलख शक्तिले पद्मकन्या क्याम्पसबाट गृह विज्ञानमा स्नातक तथा श्रीलङ्काको ओपन युनिभर्सिटीबाट अल्टरनेटिभ मेडिसिनमा विद्यावारिधि गर्नुभएको छ । हाल उहाँ मुंगेर विहारमा योग साधनामा सक्रिय हुनुहुन्छ । शारीरिक स्वास्थ्य, मानसिक शान्ति एवम् अध्यात्मिक आनन्द प्राप्त गराउने योग विद्याको व्यवसायीकरणका साथै यसको परिवर्तित रुपलाई समाजसामु ल्याउनु योगोत्सवको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

 

विहार योग विद्यालय स्थापनाको ५०औं स्वर्णमहोत्सवका अवसरमा मुंगेरमा सन् २०१३ मा विश्व योग सम्मेलनको आयोजना भएको थियो । त्यसपछि सन् २०१४ देखि सत्यम् योगप्रसादलाई जनमानसमा पु-याउनका निम्ति स्वामी नीरञ्जनानन्दले योग साधनासत्र सञ्चालन गर्ने जनाइएको छ ।

 

के हो योगोत्सव

सुख कहाँ छ, दुःखको कारण के हो, जीवनको परमलक्ष्य के हो र त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने प्रश्नको समाधान सत्यानन्द योग हो । यसै योगको वाहक नै ‘आफैलाई चिनौं ।  योगोत्सव’ हो ।

 

चारदिने योगोत्सवमा दुई सत्र सञ्चालन हुने छ । सोअनुसार प्रातःकालीन सत्रमा ‘आफँैलाई चिनाँै, दिव्यता आऔँ’ योग साधना तथा सन्ध्याकालीनसत्रमा दुःखका कारण एवम् दुःखका निवारण र योग, अब तिमी बाहिरबाट भित्रतिर जाऊ, तिमीले अहिलेसम्म कसलाई कहाँ चिन्न सक्याँैलगायत विषयमा प्रवचन दिइने छ । रासस