Baglung Aspatal 2  १६ जेठ,बाग्लुङ । धवलागिरी अञ्चल अस्पताल बागलुङमा विशेषज्ञ सहित २३ जना चिकीत्सककोे दरबन्दी भएपनि अस्पतालमा ६ जना चिकित्सक मुस्किलले कार्यरत भेटिन्छन् । बागलुङ सदरमुकाममा रहेको अन्चल अस्पतालमा पर्वत, म्याग्दी, मुस्ताङ लगायतका जिल्लाका जनतालाई सेवा लिन पुग्छन् । तर विशेषज्ञ चिकित्सक कम हुँदा विरामी उपचारबाट बन्चित हुने गरेका छन् । अस्पतालमा प्रसुति, हाडजोर्नी, नाक, कान, घाँटी लगायत १२ विशेषज्ञको दरवन्दी छ । अस्पतालमा चिकित्सक अभाव भएपछि सामान्य विरामीलाई पनि अस्पतालले पोखरा रिफर गर्ने गरेको छ ।

अस्पतालमा डाक्टर तरुण पौडेल, डाक्टर श्रीकृष्ण भट्ट, डाक्टर सम्राट श्रेष्ठ, डाक्टर सुदिना रञ्जित, डाक्टर पूर्ण प्रसाद खनाल र डाक्टर अनुजा भण्डारीले मात्र सेवा दिंदै आएका छन् । अस्पतालमा दरबन्दी भएका पाँच जना चिकित्सक काजमा काठमाडौं, पोखरा र भैरहवा र केही अमेरिकामा छन् । बागलुङ अस्पतालबाट सेवा सुविधा लिएर  चिकित्सकहरु किशोरप्रसाद लुम्बिनी अस्पतालमा, विमल चालिसे वीर अस्पतालमा, अभय पोखरेल र आनन्द नेपाल पोखरा र चक्रधर मिश्र अमेरिकामा कार्यरत छन् । अस्पतालका अनुसार डाक्टर मिश्रले अमेरिकाको पीआर समेत लिइसकेका छन् ।
 ग्रामिण क्षेत्रका जनतालाई सेवा दिन खटाइएका चिकित्सकले कामै नगरी सेवा सुविधान लिइरहँदा पनि सरकारले उनीहरुलाइ कारवाही गर्न सकेको छैन । अप्रेसन गर्दा बेहोस बनाउने चिकित्सक अभय पोख्रेलले एकम सातामै अस्पताल छाडेका छन् । उनी काजमा बिर अस्पतालमा कार्यरत छन् । उता चिकित्सक अभावले अस्पताल सेवा प्रभावित भइरहेका बेला अस्पतालको स्तरबृद्धि गर्ने सरकारको घोषणा कागजमै सिमित रहेको छ ।
 अञ्चल अस्पताल घोषणा गरेको ३ वर्ष बितिसक्दा पनि सेवा सुविधामा भने वृद्धि हुन सकेका छैन । भौतिक पूर्वाधारको अभावमा बिरामीलाइ भुइँमा सुताएर उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।