प्रकाश लामिछाने, काठमाडौं ।

चुरोट र सुर्तीजन्य पदार्थमा सरकारले क्यान्सरको चित्र अनिबार्य प्रकाशन गर्नु पर्ने नियमलाई कडाइका साथ लागु गरेपछि यसका सेवनकर्ताहरु घट्न थालेका छन् ।

चुरोट, सुर्ती, गुट्खा, खैनी जस्ता सुर्तीजन्य पदार्थको प्याकेटमा मुटु, फोक्सो, गालामा हुने क्यान्सरका डरलाग्दा तस्वीर प्रकाशन गरेपछि यसका सेवनकर्ताहरु घट्न थालेका हुन् ।

Dangerous pic of cigret 1
अझै पछिल्लो समय यो नियमलाई कडा बनाई धुम्रपान सेवन गर्नेको संख्यामा कमि ल्याउन सरकारले चुरोटको प्याकेटै बेच्नु पर्ने, खिल्लि झिकेर बेच्न नपाईने नियम बनाएको छ । यसले गर्दा फुट्कर धुम्रपान कर्ताहरुको संख्या पनि घटेको छ ।

 

पहिले खैनी, चुरोट लगायत सुर्तीजन्य पदार्थको बाहिरी खोलमा धुम्रपान स्वास्थ्यलाई हानिकारक छ लेख्नुपर्ने कानूनी प्राबधान थियो । तर हाल सरकारले सो नियमलाई परिवर्तन गरेर ‘निकोटिन’ मिश्रीत सुर्तिजन्य पदार्थमा अनिवार्य रुपमा क्यान्सर रोगको तस्वीर प्रकाशन गर्न निर्देशन दिएको छ । सरकारको निर्देशनसँगै सुर्ती जन्य पदार्थको प्याकेटमा क्यान्सरको तस्वीर प्रकाशन गरेसँगै यसका प्रयोगकर्ताहरु घट्न थालेका छन् ।

Dangerous pic of cigret 1

अहिले चुरोट लगायतका सुर्तीजन्य पदार्थको प्याकेट बाहिर हुने डरलाग्दो र घिन लाग्दो तस्वीरले गर्दा यसको सेवन कर्ता घटेको व्यापारीहरु बताउँछन् । काठमाडौंको सोह्र खुट्टेमा नाङ्लो पसल गरेर बसेकी लक्ष्मी थापा चुरोटको व्यापार घटेको बताउँछिन् । पहिले दिनमै २५ देखि ३० प्याकेट चुरोट बेच्ने उनी हाल दिनमा १० प्याकेट पनि बिक्न छाडेको बताउँछिन् ।

चुरोटको व्यापार घट्नुमा चुरोटको प्याकेट बाहिर रहेको डरलाग्दो र घिन लाग्दो तस्वीर भएको उनको ठम्याइ छ । चुरोट किन्न आउने मानिसहरु अहिले चुरोटको बट्टा लान नमान्ने उनले बताइन् । उनले भनिन्, ‘चुरोट किन्न आउनेहरुले बट्टा झिकेर कागजमा पोको पारेर लान्छन्, बट्टा लान मान्दैनन् ।’

Dangerous pic of cigret 1

उता दैनिक साइकलमा चुरोटको कार्टुन बोकेर व्यापारीलाई होलसेलमा चुरोट बेच्दै आएका उमेश गुरुङ पनि चुरोटको व्यापार घटेको बताँछन् । ‘पहिलेको तुलनामा उनको व्यापार ८० प्रतिशतले घटेको उनको भनाई छ । उनले भने, चुरोटबाट राम्रो कमाई थियो तर दुई तीन हप्ता भयो जस्तो बोकेर निस्कियो उस्तै फर्कर्नु परेको छ ।’

सुर्ती जन्य पदार्थको प्याकेट बाहिरको डरलाग्दो चित्रले चुरोट पिउने मानिसहरुलाई एक पटक सोच्न बाध्य बनाएको रमेश बस्ताकोटी बताउँछन् । पहिले नियमित जस्तै चुरोट पिउँने रमेशलाई अहिले चुरोट सम्झेपछि घिनलागेर आउँछ । उनी भन्छन्, ‘मैले चुरोट छोडेको एक हप्ता जति भयो । पहिले धेरै कोशिश गरेर पनि चुरोट छोड्नलाई  सकिन तर अहिले आफ्से आफ् छुट्यो । अहिले चुरोट सम्झनै मन लाग्दैन ।’

Dangerous pic of cigret 1

पछिल्लो समय सुर्तीजन्य पर्दाथमा छापिएका डरलाग्दा तस्वीरहरुले चुरोट सेवन गर्नेहरुको संख्यामा व्यापक कमी आएको छ । तर पनि सबै सुर्ती जन्य पदार्थमा यो नियम अझै कडाइको साथ लागु भएको छैन ।

अझै केही सुर्तीजन्य पदार्थ उत्पादकहरुले पुराना ‘स्टक’ सामान भनेर ब्यापारमा लाभ लिन नियम मिच्ने कोशिश गरेका छन् । सबैलाई समान रुपमा कानूनको पालना गराउन सके सुर्तीजन्य पदार्थको सेवनमा कमी आउनेछ ।