२० जेठ, बुटवल ।

जिल्ला अदालत रुपन्देहीले मधवलीयामा भएको तेल चोरीमा संलग्न ७ जनालाई करिव पौने दुई करोड धरौटी बुझाउन आदेश दिएको छ । डिजेल चोरीमा संलग्न निगमका कर्मचारी, ट्यांकर चालक र ट्यांकर संचालकलाई धरौटी बुझाउन आदेश दिएको हो । दुई दिनसम्म चलेको बहसपछि न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका सह–चालकहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । डिजेल चोरीमा १२ आरोपीमाथि सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग, भन्सार छली, कालोबजारी र चोरी गरी पाँच वटा मुद्दा दायर भएको थियो ।

oil thept

गत मंगलबार रुपन्देही प्रहरीले सरकारी वकिल मार्फत जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको थियो । रुपन्देहीको मधवलीयास्थित बिक्रि भन्ने विकास क्षेत्रीले संचालन गरेको भूमिगत पम्पमा तेल चोरी गर्ने क्रममा ट्यांकर चालक, सहचालक र ट्यांकर संचालक गरी १२ जना पक्रउ परेका छन् । आयल निगमका तीनजना कर्मचारीबाट जनही ४ लाख अर्थात कुल १२ लाख रुपैयाँ धरौटी जिल्ला अदालत रुपन्देहीले माग गरेको छ ।

तेल चोरी आरोपमा पक्राउ परेका पश्चिमाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका पूर्व अध्यक्ष हरिबहादुर कुवँरबाट १६ लाख ४७ हजार ३ सय ६० रुपैयाँ धरौटी माग गरिएको छ । ट्यांकर चालक शिव कुमार चौधरीबाट १६ लाख ४७ हजार ३ सय ६० रुपैयाँ, रामचन्द्र चौधरीबाट २ लाख २ हजार ६ सय ४० रुपैयाँ, सुदिप कार्की ९३ हजार ६ सय रुपैयाँ धरौटी माग गरिएको छ । तेल चोरी प्रकरणमा पक्राउ परेका ५ जना ट्यांकर सहचालक मोहन कँडेल, प्रकाश महत, राजन रायमाझी, पदम थापा र राजन चौधरीमाथि साधारण तारेखको आदेश भएको छ । निगमका कर्मचारी, ट्यांकर चालक र संचालकले अदालतले माग गरे अनुसार धरौटी बुझाउन नसके स्थानीय प्रशासनलाई थुनामा राख्ने आदेश दिइने अदालतले जनाएको छ ।