हैदरावाद ।

भारतको दक्षिणी भागमा वार्षिक रूपमा गरिने दमको पराम्परागत उपचारका लागि हजारौँ बिरामी लाइनमा बसेर नाक खुम्च्याउँदै, आँखाभरि आँसु पारेर जिउँदै माछा निल्दै गरेको देखिएको छ ।

मुलुकको दक्षिणी भागमा रहेको हैदरावाद नगरमा प्रत्येक जुन महिनामा दमका बिरामी पहेँलो जडीबुटी सहित जिउँदो माछा निल्न भेला हुन्छन् । उनीहरू यसका कारण सास फेर्न सजिलो हुने विश्वासमा छन् ।

 

यस उपचार विधिमा विरामीको घाँटीमा करिब दुई इन्च लामो माछा घुसाइन्छ । यो उपचार बठिनी गौठका परिवारले गर्ने गरेको छ र यस माछाले बिरामीको घाँटी सफा गरी दम तथा स्वासप्रस्वासको अन्य रोग स्थायी रूपमा निको हुने उनीहरूले बताएका छन् ।

यो परिवारले प्रयोग गर्ने जडीबुटीको गोपनीयता बताउन अस्वीकार गरेका छन् । उनीहरूले यो कुरा सन् १८४५ मा एक हिन्दु साधुले दिएको बताएका छन् ।

 

यस उपचारमा आमाबाबु आफ्ना छोराछोरीलाई रुवाएर भए पनि उनीहरूको मुख खोल्न लगाउँछन् । अन्य भने आफ्नो नाक तथा आँखा बन्द गरेर माछालाई सकेसम्म घाँटीभित्र पसाउन चाहन्छन् ।

दुई दिनसम्म सञ्चालन हुने यो उपचार निःशुल्क रहेको छ र यसका लागि भारतभरबाट विरामी आउने गर्छन् । उपचारको दिन भने जुन महिनामा मनसुन आरम्भ भएपनि निर्धारण हुन्छ ।

 

अधिकारवादी समूह तथा चिकित्सकहरूले भने यो उपचारविधि वैज्ञानिक नभएको, यसले मानव अधिकार उल्लङ्घन गर्ने गरेको, स्वस्थ्य नभएको आरोप लगाउने गरेका छन् । यी आरोपलाई यस परिवारले अस्वीकार गरेको छ ।

भारत सरकारले भने यो उपचार प्राप्त गर्न चाहने व्यक्तिका लागि हरेक वर्ष विशेष रेल सेवाको व्यवस्था गर्ने गरेको छ । साथै उपचारस्थलमा भीड नियन्त्रण गर्न थप प्रहरीको व्यवस्था गरिन्छ ।

यो माछा सेवन गरेपछि विरामीलाई ४५ दिनसम्म आफ्नो आहारलाई कडा रूपमा नियन्त्रण गर्न भनिन्छ । रासस,एएफपी