३ असार, सुन्दरीजल ।

गाडी चालकमाथि स्थानीयवासीले हातपात गरेको भन्दै एमाओवादी निकटको अखिल नेपाल मजदुर सङ्गठनले सुन्दरीजल–रत्नपार्क–कालिमाटी–कलङ्की रुटमा चल्ने सिटी यातायातका सम्पूर्ण मिनीबस बन्द गरेका छन् । मजदुर सङ्गठनले बस सञ्चालनमा रोक लगाएपछि यस क्षेत्रका जोरपाटी, गोकर्णेश्वर, बालुवा नयाँपाटी, सुन्दरीजल, गागलफेदी, आलापोट र भद्रवास गाविसका स्थानीयवासी सात किलोमिटरसम्म पैदल यात्रा गरेर आवतजावत गर्न बाध्य भएका छन् ।

mini bus ktm

आइतबार नयाँपाटी ओरालोमा बा२ख ८१९५ नम्बरको गाडी तीव्र गतिका कारण खेतको गह्रोमा पल्टेको थियो । मनपरी गाडी चलाएर पल्टाएको भन्दै आक्रोशमा आएर स्थानीय उपभोक्ताले चालकमािथ सामान्य हातपात गरेका थिए । आइतबार नै सिटी यातायात व्यवसायी सेवा समिति र स्थानीय उपभोक्ताबीच सहमति भई गाडी सञ्चालनमा आएको थियो ।

आज एक्कासि चालक परिचालक संलग्न एमाओवादी मजदुर सङ्गठनले गाडी बन्द गरेर उपभोक्तालाई सास्ती दिएको उपभोक्ता समितिका अध्यक्ष श्यामप्रसाद कर्माचार्यले बताउनुभयो । सिटी यातायात व्यवसायी सेवा समितिका कार्यबाहक अध्यक्षसमेत रहेका कर्माचार्य मजदुरका नाममा जे गर्न पनि पाउनुपर्छ भनेर गाडी बन्द गरेको बताउछन् ।