happy-couple

सम्मान : जीवनसंगी जागिरे नभएको अवस्थामा ‘म त कमाउने’ भन्ने अहम् जाग्न सक्छ तपाईंमा । तर, तपाईंको कामको आर्थिक मूल्य जति छ, उनको कामको आर्थिक मूल्य त्योभन्दा कम हुँदैन । तपाईंकी श्रीमती कामकाजी महिला हुन् भने पनि तपाईंले उनलाई घरायसी काममा पनि सहयोग गर्न नभुल्नुहोला । यसले तपाईंको उनीप्रतिको सम्मान अभिव्यक्त गर्छ ।

 

सल्लाह : सरसल्लाह त सम्बन्धको महत्त्वपूर्ण कडी नै हो । एक्लै निर्णय नगर्नुहोस् । घरायसी या व्यक्तिगत निर्णयमा समान सहभागिताको बोध हुने गरी सल्लाह गर्नुहोस् । यसले तपाईंको उनीप्रति गर्ने सम्मान त प्रकट हुन्छ नै तपाईंले विचार नपुर्‍याएको कुरामा उनले विचार पुर्‍याएकी पनि हुन सक्छिन् । जसले फाइदै हुन्छ ।

 

निरन्तर प्रेम : कतिपयले सोच्छन्– विवाह गरिसकेपछि मायाप्रीतिका कुरा केलाई गर्नु भन्ने सोच पनि हुन्छ धेरैको । तर, त्यो गलत हो । तपाईंकी जीवनसंगी प्रेमिका हुन् भन्ने हृदयदेखि स्वीकार गर्नु आवश्यक छ । त्यसैले वेला–वेला ‘म तिमीलाई माया गर्छु’ भन्नुले प्रेमलाई निरन्तर र जागृत बनाइराख्छ ।

 

रोमान्स : रोमान्सले वैवाहिक जीवनलाई सदैव ताजा बनाइराख्छ । रोमान्स यस्तै हुनुपर्छ भन्ने छैन । श्रीमतीलाई महिनाको एकचोटि फिल्म देखाउन लैजानु, कतै बाहिर खान जानु, उनको चुल्ठोमा फूल सिउरिदिनु आदि जस्ता सानातिना कुराले पनि तपाईंको वैवाहिक जीवनलाई तरोताजा बनाइराख्न मद्दत गर्छ ।

 

यौन सन्तुष्टि : यौन वैवाहिक जीवनको महत्त्वपूर्ण विषय हो । हरेक मानिस यौन सन्तुष्टि चाहन्छ । त्यसैले याद गर्नुहोस् आफ्नो मात्रै होइन, जीवनसंगीको सन्तुष्टिको पनि ख्याल गर्नुहोस् । जीवनसंगीले यौनसन्तुष्टि पाएको/नपाएको ख्याल गर्नुहोस् । तपाईंमा या उनीमा केही समस्या भए सौहार्दपूर्वक सल्लाह गर्नुहोस् । यसले तपाईंको वैवाहिक जीवन सधैँ सुमधुर बनाउँछ ।

 

सम्भावना : कम बचत या अधिक खर्चका लागि श्रीमतीलाई दोष नदिनुहोस् । खटाई–खटाई पैसा दिने बानी पनि राम्रो होइन । सल्लाहमा घर चलाउने खर्च निर्धारण गर्नु र त्यहीअनुसारको रकम उनलाई जिम्मा दिनुले तपाईंको सम्भावना प्रकट हुन्छ । तपाईंसँग पैसा मागिरहनुपर्‍यो भने उनले हीनताबोध महसुस गर्न सक्छिन् । त्यसैले श्रीमतीको मालिक होइन, साथी बन्नुहोस् ।

 

तारिफ : प्रशंसाको भोक हरेकलाई हुन्छ । तपाईंकी जीवनसंगी पनि त्यसबाट पर हुनुहुन्न । त्यसैले हरेक कुरामा तारिफ गर्नुहोस् । श्रीमतीको रूप, फिगर, लुगा, घर सजाउने कला होस् या खाना पकाउने कला । तारिफ गर्न कन्जुस्याइँ नगर्नुहोस् । तर, तारिफ गर्दा याद गर्नुहोस्– त्यो झुटो नहोस् ।

 

उपहार : उपहारले पनि जीवनसंगीसँगको सम्बन्धलाई सदाबहार बनाउन मद्दत गर्छ । तर, यस्तो नसोच्नुहोस् कि उपहार महँगै हुनुपर्छ । एक दर्जन चुरा वा पाउजु नै किन नहोस्, खुसी पैदा गर्न उत्तिकै महत्त्वपूर्ण हुन्छ । यो पनि नसोच्नुहोस् कि उपहारका लागि जन्मदिन, विवाहको वर्षगाँठ, तीज, या दसैँजस्ता विशेष अवसर हुनैपर्छ ।