गौतम बुद्ध र लुम्बिनी विश्व समुदायमाझ पर्यायवाची छन् । भगवान गौतम बुद्घको जन्म नेपालमा भएकै कारण विश्वभरिका करोडौ बुद्घ धर्मावलम्बीहरुका लागि लुम्बिनी आस्थाको भुमि हो भने नेपालका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय गौरब तथा प्रतिष्ठाको । तर लुम्बिनीका बारेमा अझैपनि विश्वका विभिन्न देशहरुमा केही क्षेत्रबाट भ्रमपुर्ण सुचना संप्रेषण भैरहेको छ । तर गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका अवसरमा व्यवस्थापिका संसदमा गरेको संबोधनले केही हदसम्म चिर्न सहयोग नै पुगेको छ । यसै सन्दर्भमा बुद्घ र लुम्बिनी सम्बन्धी रहेका विभिन्न प्रकारका भ्रमहरु र गलत जानकारी सच्चाउन लामो समयदेखि सक्रिय लुम्बिनी- कपिलबस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार दामोदर आचार्यसगँ हेडलाइन्सका महेन्द्र शर्माले गरेको संवाद । 

प्रश्न : तपाई विगत लामो समयदेखि विदेशमा रहेर भगवान बुद्घको जन्मस्थान र बुद्घ सम्बन्धि विविध तथ्यका बारेमा पाठ्यपुस्तकमा रहेका भ्रमपुर्ण जानकारी सच्याउन लागिपर्नुभएको छ । त्यो आवश्यकता किन पर्यो ?
प्रथमत: म यस अभियानको सुत्रपात भएको समय देखि नै क्रियाशील रहेको हुँ । भगवान गौतम बुद्ध नेपालको राष्ट्रिय विभूति हुन् । बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनी नेपाल र नेपालीको राष्ट्रिय गौरव भएकोले त्यस बारेमा सिर्जित दिग्भ्रमका कारण हाम्रो राष्ट्रियतामा समेत आघात पुगेकोले एवं विश्वका जनताहरुलाई बुद्धको वास्तविक जन्मस्थलको विषयमा अन्यौल नरहोस् भन्ने उद्देश्यले यो अभियानको आवश्यकता परेको हो ।

Damodar Acharya tag 1

प्रश्न : भ्रमपुर्ण जानकारी सच्याउन हालसम्म के के गर्नुभयो ?
मूख्यत: २००९ देखि सुरु भएको अभियानको ग्लोबल समिति र राष्ट्रिय समितिहरुले विश्वव्यापीरुपमा हरेक वर्ष १ डिसेम्बरलाई बार्षिक दिवसको रूपमा लुम्बिनी कपिलवस्तु दिवस मनाउँदै बुद्धको जन्मस्थल लुम्बिनी-कपिलवस्तु, नेपालको व्यापक रूपमा प्रचार प्रसार गर्दै जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । बुद्ध जयन्तीको सन्दर्भमा पनि विभिन्न देशहरुमा बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा भएको वास्तविक तथ्यको प्रचार प्रसार गर्न अन्य नेपाली संघ संस्थाहरुसंग समेत मिलेर सामुहिकरुपमा सन्देशमुलक कार्यक्रमहरु गर्दै आएको छ । गुगल म्यापमा बुद्धको जन्मस्थल भारत उल्लेख भएकोमा अभियानको सक्रियताका कारण यसको पहलमा गुगलले भारतको ठाउँमा सच्याएर नेपाल राखिनु अभियानको पहिलो र ऐतिहासिक सफलता हो । ब्रिटिश म्युजियममा भएको बुद्धको जन्मस्थल सम्बन्धि गलत जानकारी सच्याउन अभियानले गरेको सक्रिय प्रयासका कारण नोभेम्बर ७, २०११ मा ब्रिटिस म्युजियमले आफ्नो कमजोरी सुधार गर्दै “द लाईफ अफ बुद्ध ” मा “नर्थइष्ट इंडिया” को स्थानमा “लुम्बिनी, नेपाल” राखेर सच्याउने कार्य भएको छ ।
एउटा लज्जाको विषय, नेपालमा त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराइने इन्साईक्लोपिडिया ब्रिटानिकाका सम्पादक चार्ल्स भान डोरेनको “ए हिस्टोरी अफ नलेज” नामक अंग्रेजी पाठ्यपुस्तकमा ‘बुद्ध उत्तरी भारतमा जन्मिएको एउटा राजकुमार थिए’ भन्ने कुरा पढाइने गरिएको रहेछ । त्यो तथ्य प्राप्त भएपछि उक्त पुस्तक पाठ्यक्रमबाट अविलम्ब हटाउनको लागि अभियानका विश्व समिति सल्लाहकार तथा वरिष्ठ साहित्यकार प्राध्यापक डा. कविताराम श्रेष्ठसहितको टोलीले २ फेब्रुअरी, २०१२ मा त्यहाँको कूलपतिसमक्ष ज्ञापनपत्र बुझाएको थियो । त्यसपछि त्यो किताब पाठ्यक्रमबाट हटाएको बुझिएको छ ।
तेस्रो लुम्बिनी कपिलवस्तु दिवसको अवसरमा विश्व समिति सल्लाहकार वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. कविताराम श्रेष्ठको संयोजकत्वमा १ डिसेम्बर, २०११ मा अभियानले नेपाल पर्यटन बोर्डको सहयोगमा काठमाडौँमा ” लुम्बिनीको विकास: सम्भावना र चुनौतिहरु” विषयमा अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । उक्त अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठीले लुम्बिनीको विकास र प्रवर्धनको लागि नेपाल सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा गर्नु पर्ने महत्वपुर्ण कार्यहरुको लिखित प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकार तथा नेपालका प्रमुख राजनीतिक दलहरुलाई बुझाएको थियो । सोहि अनुरुप नेपाल सरकार तथा गैर आवासीय नेपाली संघ समेतको सामुहिक प्रयासबाट संयुक्त राष्ट्र संघ अन्तर्गतको अन्तर्राष्ट्रिय न्यायालयमा बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा ६२३ इशापुर्वमा भएको सन्देशसहितको बुद्धको प्रतिमा प्रतिस्थापना गरियो ।

वर्षेनी नोवेल शान्ति पुरस्कार वितरण गरिने नर्वेको ओस्लो नगरपालिका भवन अगाडि १० डिसेम्बर, २०१३ का दिन अभियानको राष्ट्रिय समिति नर्वेको आयोजनामा विश्व शान्तिको लागि ऎक्यवद्दता जनाउन बुद्धका उपदेशयुक्त प्लेकार्डहरु र बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा भएको तथ्ययुक्त ब्यानरसहित सडक प्रदर्शन कार्यक्रमका साथै सोहि दिन ओस्लोको युनिभर्सिटी हलमा बुद्धको जन्मस्थल विषयमा सिर्जित दिग्भ्रम विरुद्धको लुम्बिनीको बृतचित्र प्रदर्शन सहित अन्तरक्रिया कार्यक्रम गर्यौं । उक्त ऎक्यवद्दता प्रदर्शनलाई नर्वेको एक प्रमुख दैनिक अखवार भार्ट ल्याण्डले महत्वपूर्ण खबर बनाएको थियो ।

अभियानको सक्रियतामा १९ जुन, २०१३ मा अभियानको विश्व संयोजक रामकुमार श्रेष्ठ र अष्ट्रेलियाको नेपाली समुदायका महेन्द्र लम्सालबाट तत्कालिन अष्ट्रेलियाको प्रधानमंत्री जुलिया गिलार्डलाई विश्व शान्तिको कामनासहितको पत्रका साथ बुद्धको प्रतिमा उपहार दिने कार्य भयो । अभियानको तर्फबाट विश्व शान्तिको लागि ऎक्यवद्दता जनाउन नर्वेजियन नोवेल इन्स्टिच्युटसंग गरेको अनुरोध पछि १२ फेब्रुअरि, २०१४ मा ओस्लोको नोवेल इन्स्टिच्युटमा भएको औपचारिक बैठकका क्रममा युरोपेली संघका लागि नेपाली राजदुत राममणी पोखरेलको प्रायोजनमा म र अभियानको राष्ट्रिय समिति नर्वेका राष्टिय संयोजक डा. कृष्ण अर्यालबाट संयुक्तरुपमा बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा ६२३ इशापुर्वमा भएको सन्देश अंकित सुनको जलप लगाइएको बुद्धको प्रतिमा नर्वेजियन नोवेल इन्स्टिच्युटका डाईरेक्टर गैर लुन्देस्ताद्लाई उपहार दियौं ।

अधिकांश देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थल उत्तर भारतमा भनेर विश्वका जनतालाई दिग्भ्रमित तुल्याउने मूलभूत समस्या कायमै रहेकोले यस विषयमा नेपाल सरकारको प्रत्यक्ष सहभागिता विना यो समस्या समाधानको लागि बर्षौं लाग्ने भएकोले नेपाल सरकारलाई कुटनीतिक प्रयासमार्फत विश्वमा पाठ्यपुस्तकमा भएका गलत जानकारी सच्याउन दवाब दिने अभिप्रायले काठमाण्डौंमा लुम्बिनी- कपिलबस्तु दिवस विश्व अभियानले १२ अगष्ट २०१० का दिन तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाएको थियो । त्यसपछि दक्षिण कोरियामा गलत जानकारी भएका पाठ्यपुस्तक सच्याउन त्यहाकf लागि तत्कालिन राजदुत कमलप्रसाद कोइरालाबाट भएको कुटनीतिक प्रयासले सार्थकता पायो । पछिल्लो पटक त्यसलाई अनुसरण गर्दै अभियानले पाठ्यपुस्तक सच्याउन स्वीडेनमा गरेको कुटनीतिक पहल सार्थक बनेको छ ।

 

प्रश्न: भगवान बुद्घको जन्मस्थान सम्बन्धी भ्रमपुर्ण जानकारी सच्याउनका लागि भएका कार्यक्रमहरुमा नेपाली कुटनैतिक निकाय र सम्बन्धित देशमा अवस्थित नेपाली दुतावास तथा अधिकारीहरुको सहयोग कस्तो रहने गरेको छ ?
अभियानको तर्फबाट स्विडेनको पाठ्यपुस्तकहरुमा भएको भ्रम सच्याउन गरेको कुटनीतिक प्रयासलाई युरोपेली संघका लागि नेपाली राजदुत राममणि पोखरेलबाट पूर्ण सहयोग प्राप्त भयो र त्यस अनुरोधलाई डेनमार्कस्थित नेपाली दुतावासमा कार्यन्वयनको लागि पठाई दिनुभयो । स्विडेनको जिम्मेवारीसमेत सम्हाल्नु भएका राजदुत मुक्तिनाथ भट्टको समेत पूर्ण सहयोगका कारण यस विषयले सार्थकता पायो । विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुले गर्नु पर्ने कार्य जनस्तरबाट अभियानले गर्दै आएको जगजाहेर छ । हामीले कसैसंग पनि आर्थिक सहयोग नलिइ आ-आफ्ना क्षमता अनुसार रकम खर्च गरेर नेपालको गौरव र त्यसको प्रवर्धनमा आफ्नो व्यस्तताका बाबजुद समय खर्चिरहेका छौं । आगामी दिनमा विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुको सहयोग अभियानले निरन्तर प्राप्त गर्नेछ भन्ने विश्वास बढेको छ ।

 

प्रश्न: विभिन्न देशहरुमा लुम्बिनी कपिलवस्तु दिवस विश्व आन्दोलन राष्ट्रिय समिति पनि गठन गर्नुभएको रहेछ । राष्ट्रिय समिति किन आवश्यक पर्यो र उनीहरुले के काम गरिरहेका छन् ?
हाम्रो अभियान विश्वव्यापी रुपमा संसारका जति धेरै देशमा गठन गर्न सकियो त्यसै अनुसार ती देशहरुमा अभियानका गतिविधि बढाउन सकिने हुदाँ नै त्यो आवश्यता भएको हो । ती देशहरुमा बुद्धको जन्मस्थल विषयमा रहेको भ्रमहरुका बारेमा पनि जानकारी पाउन सहज हुने नै भयो । नर्वे र स्वीडेनमा राष्ट्रिय समितिहरु गठन गरे पछि नै ती देशहरुमा अभियानका गतिविधिहरु अघि बढेका हुन् । अस्ट्रेलियामा पनि नेपाललाई बुद्ध र सगरमाथाको देश भनेर चिनाउन केहि वर्ष देखि नै पाको फेस्टा नामक विशाल मेलामा अभियानले कार्यक्रम गर्दै आएको छ । अन्य देशहरुमा पनि अभियानका गतिविधि बढिरहेका छन् ।

 

प्रश्न: अन्तरराष्ट्रिय तथा राष्ट्रिय समितिमा को को संलग्न हुनुहुन्छ ?
यसको विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठ, अष्ट्रेलिया हुनुहुन्छ । विश्व समितिमा अमेरिका, क्यानाडा देखि न्युजिल्याण्ड, जापान नेपालसम्मका नेपाली र विदेशी नागरिकहरु हुनुहुन्छ । अभियानको विश्व कार्य समिति पहिले गठन गरे पछि राष्ट्रिय समितिहरु गठनको प्रक्रिया अघि बढेको हो । विश्व कार्य समितिमा अमेरिका, क्यानाडा देखि न्युजिल्याण्ड, जापान नेपालसम्मका २१ जना हुनुहुन्छ । त्यसको विश्व सल्लाहकार समितिमा विदेशी समुदायबाट उच्च छवि भएका जर्मनी लेखक तथा आध्यात्मिक गुरु अग्नि फ्रान्क एईकेर्मान, अमेरिकन महिला आध्यात्मिक निर्देशक डोमो गेशे रिन्पोचे, लगायत गायिका तथा समाजसेवी आनी छ्योइङ्ग ड्रोल्मा, डा. आरजु राणा देउवा, अष्ट्रेलियाका लागि अवैतनिक कंसुल जनरल दीपक खड्का, वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. कविताराम श्रेष्ठ, पुर्व मन्त्री राजेन्द्र श्रेष्ठ, पुर्व राजदुत डा. ऋषि अधिकारि, पूर्व राजदुत टंक कार्की हुनुहुन्छ । युरोप सल्लाहकारमा बेल्जियम-नेपाल मैत्री संघका अध्यक्ष फ्रान्क वेर्मीर्स्च पनि हुनुहुन्छ । युरोप संयोजकमा डा मधुकष्ण श्रेष्ठ तथा सार्क सल्लाहकारमा बरिष्ठ पत्रकार केदार शाक्य हुनुहुन्छ ।

 

प्रश्न: लुम्बिनी कपिलवस्तु दिवस विश्व अभियानले बुद्घ धर्मसम्बन्धी धार्मिक गतिविधि पनि संञ्चालन गर्छ होला नी ?
बुद्दिजम एउटा धर्म मात्र नभएर दर्शन हो । हाम्रो अभियानको उद्देश्य धर्म प्रचार होइन । बुद्धका जीवनोपयोगी सन्देशको प्रचार चाही हामी गरिरहेका छौं । त्यसैले हाम्रो अभियान विश्व शान्तिको सन्देश प्रवाह गर्ने कार्य पनि संगसंगै गरिरहेको छ ।

Damodar Acharya tag 2

प्रश्न: तपाईहरुले जारी राखेको यो अभियानमा नेपाल सरकार तथा अन्य संस्था जस्तो कि विश्व सम्पदा सुचीमा कपिलवस्तु पनि रहेकाले युनेस्कोबाट कस्तो सहयोग पाइरहनुभएको छ ?
गत सेप्टेम्बरमा बेल्जियममा अर्थमन्त्री शंकरप्रसाद कोइराला अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागिताको लागि आउनु भएको बेलामा अभियान र अभियानको गतिविधिको बारेमा उहासगँ केही छलफल भएको थियो र उहाँले अभियानको कार्यको सराहना गर्दै छिमेकी देशबाट विवादित किसिमबाट केही सामग्री निर्माण भएको हुन् सक्ने आशंका कायम रहेकोले नेपाल सरकारको तर्फबाट आवस्यक कुटनैतिक पहल गर्ने जनाउनु भएको थियो । हाम्रो तर्फबाट औपचारिक पत्र पनि प्रधानमन्त्रीलाई सम्बोधन गरेर पठाईएको थियो तर सरकारका तर्फबाट के गरियो अभियानलाई हालसम्म केहि जानकारी प्राप्त भएको छैन ।

 

प्रश्न: कुनै सहयोगको अपेक्षा गर्नुभएको छ ?
हामीलाई विश्वव्यापी रुपमा कार्य गर्न नेपाल सरकारको नैतिक र भौतिक सहयोगको खाचो त खड्किरहेको नै थियो र छ । अब आगामी कार्यक्रमहरुको लागि हामीलाई सहकार्यको आवस्यकता छ । 

 

प्रश्न: हामीलाई जानकारी भए अनुसार विभिन्न पुस्तकहरुमा भगवान बुद्घको जन्मस्थान र बुद्घ सम्बन्धी अन्य भ्रमपुर्ण जानकारी सच्याउन तपाईहरु अन्तराष्ट्रियस्तरको सेमिनार आयोजना गर्दै हुनुहुन्छ । सेमिनारको बारेमा केही जानकारी गराइदिनुहोस् न ?

आगामी वर्ष २५५९औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले युरोपियन हेडक्वार्टर ब्रुस्सेल्समा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गर्ने कार्यक्रम रहेको छ । यसको मूल उद्देश्य बुद्धको जन्मस्थल लुम्बिनी, नेपालमा नभएर उत्तर भारतमा भएको थियो भनेर गलत जानकारीसहितका फिल्म, श्रव्य दृश्य निर्माण गर्ने निर्माता, गलत व्याख्या गर्ने पुरातात्वविद, गलत उद्घोष गर्ने उच्च पदस्थ राजनीतिज्ञ तथा कुटनीतिज्ञ तथा पाठ्यपुस्तकमा गलत जानकारी लेख्ने लेखक तथा प्रकाशकहरुलाई आमन्त्रण गरेर उहाँहरुलाई आफ्ना गल्तीहरु सच्याउन अवसर उपलव्ध गराउने हेतुले गर्न लागिएको हो । यसमा नेपाल सरकारको सहकार्यको अपेक्षा हामीले राखेका छौं सरकारसंग सहकार्यको लागि प्रस्ताव गर्ने गृहकार्यमा जुटिरहेका छौं । सेमिनारमा अमेरिका, बेलायत, भारत, स्विडेनलगायत विभिन्न देशका लेखकहरुलाई आमन्त्रण गर्ने कार्यक्रम छ । अन्तर्राष्ट्रिय सेमिनारको प्रमुख अतिथि चाहि हामीले संयुत राष्ट्र संघका महासचिव बान कि मुनलाई आमन्त्रण गर्ने सोच बनाएका छौं ।

 

प्रश्न: यो सेमिनार र समग्र अभियानमा लुम्बिनी विकास कोषको कुनै भुमिका वा सहयोगको अपेक्षा गर्नुभएको छ ?
अभियानका केहि अन्तरक्रिया कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामागंले सहभागिता जनाउनु भएको थियो । उहाँले अभियानले गरेका कार्यको खुलेरै प्रशंसा पनि गर्नुभएको छ । अब हामीलाई कोषको सहकार्यको खाचो छ ।

 

प्रश्न: सेमिनारमा कुनै खोज, अनुसन्धान वा अन्वेषण सम्बन्धी कार्यपत्र पनि प्रस्तुत गरिन्छ ?
मुख्यत्: लुम्बिनीमा लामोसमय देखि पुरातात्विक अध्ययन, अनुसन्धान र उत्खनन कार्यको नेतृत्व गरिरहनु भएका बेलायतको दुरहाम विश्वविध्यालयका प्राध्यापक तथा दक्षिण एसिofका पुरातत्वविद्हरुको नेतृत्वकर्ता डा.रोबिन कोनिङ्घाम र उहाँका सहकर्मी नेपालका वरिष्ठ पुरातत्वविद् तथा युनेस्को कन्सल्ट्यान्ट कोषप्रसाद आचार्यले कार्यपत्र पेश गर्ने सल्लाह भएको छ । लुम्बिनीको मायादेवी मन्दिर मुनि गरेको उत्खननबाट सन् २०१० देखिको प्रयासमा उहाँहरुले गत बर्ष इट्टाहरुको पर्खालको बीचबाट छैठौं शताव्दीको काठको संरचना पत्ता लगाउनु भएको छ । त्यो हालसम्मकै सबै भन्दा पुरानो बुद्धको जन्मस्थल लुम्बिनी, नेपाललाई प्रमाणित गर्ने बलियो थप प्रमाण हो ।