२६ भदौ, काठमाडौं ।

नेपाली कांग्रेस र मोहन बैद्य नेतृत्वको माओवादीको आ-आफ्नै अडानका कारण दलहरुबीच सहमति भैसकेको राष्ट्रिय राजनीतिक सभा हुने नहुने अनिश्चित बनेको छ । नेपाली कांग्रेसले भदौ २९ मा गर्नु पर्ने र नेकपा-माओवादीले असोज १ गते अगाडी गर्न नभ्याइने अडान लिएपछि सभा हुने नहुने अनिश्चित भएको हो ।

Baidya Koirala

 

प्रस्तावित राजनीतिक सभाबारे टुङ्गो लगाउन आज बालुवाटारमा बसेको प्रमुख ३ दल र माओवादीको बैठकले राष्ट्रिय राजनीतिक सभाका विषयमा सहमति जुटाउन सकेन ।

 

बैठकपछि बोल्दै कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले भदौ १९ को सहमति अनुसार राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने कुरामा छलफल भएको र यसको उद्देश्यको टुङ्गो लगाउन कार्यदललाई जिम्मा दिइएको बताए । यसले संविधान निर्माणमा दिन सक्ने योगदानबारे पनि स्पष्ट पार्ने जिम्मा कार्यदललाई दिइएको उनले बताए ।

एमाले उपाध्यक्ष एवं कार्यदलमा रहेका भीम रावलले भने- ‘कार्यदलको प्रतिवेदनमाथि छलफल भयो । सहमति जुट्न नसकेको विषयमा परिमार्जन गर्ने जिम्मा फेरी कार्यदललाई दिइएको छ’ ।

 

बैठकपछि बोल्दै एनेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीले मितिको विषयमा आफूहरुलाई आपत्ति नभएको र जहिले भएपनि सहमति सबै दलबीच हुनु पर्ने धारणा आफूहरुको रहेको बताए ।

 

नेकपा माओवादीका सचिव एवं कार्यदलका सदस्य देव गुरुङले नेपाली कांग्रेसले राजनीतिक सभा २९ भदौ उनान्तीसमा गर्ने प्रस्ताव राखेको र आफूहरुले असोज २ मा गर्ने प्रस्ताव गरेको बताए । आफ्नो प्रस्तावमा कांग्रेसले सहमति नजनाएपछि आफूहरु १ गते गर्न पनि तयार भएको तर कांग्रेसले २९ गतेको अडान लिएको उनको भनाइ थियो । ‘राजनीतिक सभा गर्नै पर्छ । यसको विषयमा सहमति हुनु पर्छ । राष्ट्रिय सहमति, शान्ति प्रक्रियाका विषयमा टुंगाउनु पर्छ । सर्वपक्षीय राजनीतिक सभाले संक्रमणकालका सबै मुद्दा टुङ्ग्याउनु पर्छ ।’ उनले भने ।

 

संविधान निर्माणमा नेकपा-माओवादीको सहभागिता सुनिश्चित गर्न उसले माग गरेको राष्ट्रिय राजनीतिक सभा गर्न सहमत भएका दलहरुबीच त्यस्तो सभा कहिले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

दलहरुले उक्त सभाबारे गृहकार्य गर्न कार्यदल गठन गरेका थिए । कार्यदलमा कांग्रेसबाट कृष्ण सिटौला, एमालेबाट भीम रावल र अग्नि खरेल तथा एमाओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा तथा र नेकपा-माओवादीबाट सचिव देव गुरुङ र प्रवक्ता पम्फा भुसाल छन् ।