के तपाई साना साना बिरामीहरुबाट आजित हुनुहुन्छ । बिरामी देख्दा साना देखिन्छन् मानिसलाई दुःख भने प्रशस्तै दिरहेका हुन्छन् । यी साना तिना बिरामीबाट जोगिनका लागि हामी घरेलु औषधि गर्न सक्छौ ।

ausadhi

घरेलु औषधि हामीले प्रयोग गरे पनि कसरी प्रयोग गर्ने तरिका जानेको हुदैनौँ । आउनुस हामी सिकाउछौँ हामीसँग भएका कुन चिज केमा काम लाग्छन् ।

१. घाँटी दुखेको बेलामा बेसारमा तातो दूध हालेर खाने चलन पहिले देखिको हो । बेसार र तातो दूधले घाँटीको दुखाइ कम गर्छ ।

 

२. पोलेको ठाउँमा आलु काटेर दल्दा केहि निको हुने गर्छ । आलुलाई मसिनो टुक्रा पारेर त्यसलाई पोलेको ठाउँमा लगाउँदा फोका आउँदैन र पोलेको चाँडै निको हुन्छ । घामले पोलेको छालामा पनि ताछेको आलु लगाउँदा चाँडै निको हुन्छ ।

 

३. चिसो लाग्दा अदुवा हालेको चिया, अदुवा उमालेको पानी आदिले धेरै फाइदा गर्छ । यसरी अदुवा हालेको पानीले घाँटी दुखेको कम गर्छ र खोकी कम गर्न पनि मद्दत गर्छ ।

 

४. लसुन र प्याज हालेर पकाएको, सूपमा मरिच हालेर तातो–तातो खाँदा धेरै नै आराम महसुस हुन्छ ।

५. घाँटी दुखेको बेलामा केही तुलसीको पातलाई पानीमा उमालेर पानीसहित तुलसीको पात चपाएर सेवन गर्दा धेरै फाइदा गर्छ ।

 

६. घाँटी दुखेको बेलामा तुलसीको पातलाई उमाली त्यसमा मह र कागती हालेर खानाले पनि धेरै फाइदा गर्छ । कागतीको रस धेरै समस्याहरुको लागि उपयोगी छ ।

७. कतिपयलाई दाँत र गिजाबाट रगत आउने समस्या हुन्छ । गर्भवती महिलाको पनि दाँत र गिजाबाट रगत आउने समस्या हुन्छ । तोरीको तेल, बेसार र नुन मिलाएर गिजामा मालिस गरी कुल्ला गर्नाले बिस्तारै दाँत र गिजाबाट रगत आउने समस्या कम हुन्छ ।

 

८. अलि–अलि पोलेको बेलामा, घामले छाला डढेको बेलामा घिउकुमारीको लेदो लगाउनाले पोलेको ठाउँमा फोका उठ्दैन र घामले डढेपछि पोलेको दुखाइ पनि कम हुन्छ । घिउकुमारीको गुदी सुक्खा छालामा दल्दा छाला नरम हुन्छ ।

 

९. रुघाखोकी लागी नाक बन्द भएर सास फेर्न गाह्रो भएको बेलामा तातो पानीमा घिउकुमारीको गुदीलाई उमालेर बाफ लिँदा धेरै सजिलो महसुस हुन्छ । छालाका लागि बनाइएका सौन्दर्य क्रिमहरुमा पनि घिउकुमारीको प्रयोग गरिएको हुन्छ ।

 

१०. लामो समय हिँडेर थाकेका बेला तातो पानीले नुहाउँदा थकाइ कम हुन्छ । लामो समय हिँडेपछि खुट्टाको मांसपेशी दुख्दा पनि तातो पानीमा डुबाउँदा फाइदा हुन्छ । मनतातो पानीमा नुन मिसाई दुखेको ठाउँसम्म भिजाएर केही बेर राखेपछि दुखाइमा कमी हुन्छ ।

 

११. खुट्टामा धेरै पसिना आएर गन्हाउने समस्या भएको व्यक्तिलाई पनि तातो पानी र नुनले फाइदा गर्छ । खुट्टा भिजाएर राख्नाले गन्हाउने कम हुन्छ । साथै पसिना गन्हाउने र काखी गन्हाउने व्यक्तिका लागि नुहाएपछि अन्त्यमा अलिकति पानीमा कागतीको रस हालेर पखाल्ने र कागतीको रस काखी र अन्य पसिना आउने ठाउँमा दल्नाले गन्हाउने कम हुन्छ ।

 

१२. गर्भावस्थाको अन्त्यतिर केही माहिलालाई खुट्टा वा हात चिलाउने हुन्छ । बच्चा पाएपछि यो आफै निको हुन्छ । यो चिलाउने कम होस् भन्नको लागि कपुरलाई नरिवलको तेल र तोरीको तेल तताएर छालामा मालिस गर्दा चिलाउने धेरै कम भएर जान्छ ।