BACK-PAIN
धेरैको साझा समस्या हो । लामो समयसम्म कुर्सीमा बसेर वा निहुरिएर काम गर्नुपर्नेलाई त यसले झनै सताइरहेको हुन्छ ।

मांसपेशी, नशा, हड्डी तथा जोर्नीलगायतमा भएको पीडाका कारण ढाडको दुखाइ महसुस हुन्छ । ढाड दुख्ने समस्याबाट पीडित हुँदा काम गर्न निकै कठिनाइ हुन्छ । काममा मन एकत्रित गर्न पनि सकिँदैन । त्यसैले यसको कारण र समाधानबारे सचेत हुनु आवश्यक छ ।

 

किन दुख्छ ढाड ?
एउटै काम पटक–पटक दोहोर्‍याएर गर्दा मांसपेशीमा दबाब पर्छ । यसबाट मांसपेशीमा चोट पर्ने वा मांसपेशी थाक्ने हुन्छ । यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ । बढी गह्रौँ वस्तु उठाउँदा पिठ्युँमा बढी जोड पर्छ, जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।

पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांसपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ । जसका कारण पनि पिठ्युँमा बढी दुखाइ महसुस हुन्छ । पिठ्युँको प्राकृतिक स्वरूपमाथि अत्यधिक दबाब वा बढी निहुरिनेलगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गई पिठ्युँ दुख्ने हुन्छ ।

 

के गर्ने ?
लामो समयसम्म एउटै काम नगर्नुहोस् वा कुर्सीमा बसिनरहनुहोस् । केही बेर हिँड्ने, पाइला चाल्ने, कम्मर मर्काउनेलगायतका सामान्य व्यायाम वेला–वेलामा गर्नुहोस् । शरीरको उचित मुद्रा कायम गर्नुहोस् । बस्दा बढी कुप्रो परेर नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा केही बेर बस्नुहोस् र खुट्टालाई आराम दिनुहोस् । बढी गह्रौँ वस्तु नउठाउनुहोस् । उठाउँदा भित्ता अथवा अरू वस्तुको आड लिनुहोस् । अनावश्यक रूपमा झुक्ने, पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रूपमा पटक–पटक उठ–बस नगर्नुहोस् ।