एजेन्सी

नानो लेटर्स जर्नलमा प्रकाशित एक अनुसन्धानको विवरणमा कृत्रिम दृष्टिपटल (रेटिना) बनाउनमा ठूलो उपलब्धि प्राप्त भएको जानकारी दिइएको छ । तारको प्रयोगबिना बाह्य स्रोतबाट आएको प्रकाशद्वारा मस्तिष्कका न्युरोनलाई सक्रिय पार्नमा सफलता मिलेको छ ।

eye
तारविहीन नानो प्रविधिको एक वस्तुले मस्तिष्कका कोषलाई प्रकाशप्रति संवेदनशील बनाएकाले कृत्रिम रेटिना निर्माण गर्ने बाटो खुलेको दाबी गरिएको छ । इजरायलको तेल अभिभ विश्वविद्यालयको स्कुल अफ इलेक्ट्रिकल इन्जिनियरिङका प्राध्यापक यायल हानेनको नेतृत्वमा भएको अनुसन्धानमा नानो प्रविधिको नयाँ पदार्थको प्रयोग गरिएको थियो । यस विधिबाट कृत्रिम रेटिना तयार पार्न सकिएमा उमेरसँग जोडिएको रेटिनाको समस्या म्याकुलर डिजेनरेसनको सफल उपचार सम्भव हुनेछ ।

कृत्रिम रेटिनाको विकास गर्नका लागि भएका अन्य अनुसन्धानमा शरीरमा नै प्रत्यारोपण गर्नुपर्ने उपकरण बनाइएका छन् । जसले प्रकाश सङ्केतलाई मस्तिष्कमा पठाउने गर्छन् । तर, प्राध्यापक हानेनका अनुसार विगतमा विकास गरिएका विधिबाट कम रेज्युलेसनको छवि बन्थ्यो भने नयाँ विधि बढी प्रभावकारी र सजिलो छ । यसले न्युरोनहरूलाई अझ राम्रोसँग उत्प्रेरित गर्छ । तारविहीन कृत्रिम रेटिनामा सेमिकन्डक्टर नानोरड र कार्बन नानोट्युबलाई प्रयोग गरिएको छ ।

eye protection 3
यी वस्तुद्वारा बनाएको रेटिनामा क्षतिग्रस्त रेटिनाको स्थान लिनसक्ने क्षमता रहेको अनुसन्धान टोलीले जानकारी दिएको छ । अनुसन्धान टोलीले तारविहीन कृत्रिम रेटिनालाई चल्लामा परीक्षण पनि गरेको छ । चल्लाको रेटिना प्रकाशप्रति संवेदनशील भई नसकेको अवस्थामा कृत्रिम रेटिनाले उसको मस्तिष्कका कोषलाई सक्रिय पारेको थियो ।