१ जेठ, काठमाडौं ।

निर्वाचन आयोगले मतदान सम्पन्न भएका २ सय ८१ तहमध्ये ७९ तहको मतगणना सुरु भएको जानकारी दिएको छ । विभिन्‍न तहका मतपेटिका एयरलिफ्टमार्फत मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको र त्यसपछि मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नम्बर ४ का सम्पूर्ण मतपेटिकाहरु मतगणनास्थलमा आइपुगेका छन् । त्यस्तै प्रदेश ३ का ८ स्थानीय तह तथा प्रदेश नम्बर ६ का ५१ स्थानीय तहको मतपेटिका आउन बाँकी रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ ।

कतिपय मतपेटिका ढुवानीकै क्रममा छन् । १२ बजेसम्म सम्पूर्ण मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिए ।

चितवनमा ढुवानीका क्रममा १० वटा मतपेटिका भिजेको उनले जानकारी दिए । जम्मा ४९ लाख ५६ हजार ९ सय ३६ मध्ये ३६ लाख ४८ हजार ४ सय ९१ अर्थात ७४ प्रशित मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

यसअघि प्रारम्भिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा निर्वाचन आयोगले ७३ प्रतिशत मत खसेको आँकलन गरेको थियो । सबैभन्दा धेरै भक्तपुर जिल्लामा ८३ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ ।

हुम्ला र रसुवा जिल्लामा ८० प्रतिशतभन्दा बढी मत खसेको छ। २१ जिल्लामा ७० प्रशितभन्दा माथि मत खसेको छ भने बाँकी १० जिल्लामा ७० प्रतिशतभन्दा कम मत खसेको छ ।